बौनिया/ कैलालीको बर्दगोरिया गाउँपालिकामा गत शनिवारबाट सुरु भएको प्रथम अध्यक्ष कप बृहत् खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । प्रतियोगीको विजेतामा आयोजक वसन्त मुरारी माध्यमिक विद्यालय हाबी रहेको छ ।
खेलकुद अन्तर्गत निम्न माध्यमिक तहमा १ सय ४६ अङ्कका साथ उपाधि हात पारेको आयोजक विद्यालयले माध्यमिक तहमा पनि २ सय २५ अङ्कका साथ उपाधि हात पारेको छ ।
यस्तै निम्न माध्यमिक तहमा ७ अङ्कका साथ उप विजेता बनेको कालिका माध्यमिक विद्यालयले माध्यमिक तहमा पनि १ सय ५८ अङ्कका साथ उप विजेतामै सीमित बनेको छ । निम्न माध्यमिक तहमा माइकी मिडियाम ५४ अङ्कका साथ तेस्रो हुँदा माध्यमिक तहमा भने ९३ अङ्कका साथ न्यु बालबाटिका विद्यामन्दिर तेस्रो बनेको छ ।
यस्तै प्राथमिक तहमा २४ अङ्कका साथ कालिका माध्यमिक विद्यालय विजेता बन्दा १६ अङ्कका साथ मोति भागरथी आधारभूत विद्यालय उप विजेता बनेको छ भने १२ अङ्कका साथ माइकी मिडियम स्कुल तृतीय बनेको छ ।
पालिका भरीका १५ विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा दौड, हाई जम्प, लङ्ग जम्प, ट्रिपल जम्प, चम्चा गुच्चा, सटफुट, ज्याब्लीङ्ग थ्रो, कबड्डी, भलिबल लगायतका खेलहरू खेलाईएका थिए ।
आयोजक वसन्त मुरारी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टङ्कबहादुर कुँवरको अध्यक्षतामा सुरु भएको समापन समारोहका प्रमुख अतिथि पालिका अध्यक्ष बलिराम डगौरा थारु रहेका थिए ।
यस्तै कार्यक्रममा उपाध्यक्ष भगवती देवी डगौरा, वडाध्यक्ष भेखु चौधरी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की लगायतको पनि सहभागिता रहेको थियो