लिलाराज शाही,कैलाली/कर्णाली प्रदेशको दैलेख जिल्ला आठबिस नगरपालिका–१, सातालामा बडादशैँको अवसरमा ठूलो धनराशिको पुरस्कारसहित अन्तरपालिका आठबिस कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
बीबी ल्याक्स फाउन्डेसन आठबिस नगरपालिका–१ सातालाको आयोजनामा हुने प्रतियोगिता कार्तिक ६ गतेदेखि ८ गतेसम्म श्री लक्ष्मी माध्यमिक विद्यालय सातालाको खेलमैदानमा सञ्चालन हुने आयोजक समितिले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख १ हजार १११ रुपैयाँ, द्वितीय हुने टोलीले १ लाख २५ हजार १११ रुपैयाँ र तृतीय हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता टोलीलाई नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ तथा उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिबेरो, अनुशासित खेलाडी र उदयीमान खेलाडीलाई जनही २ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
बडादशैँको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताले खेलकुदको विकास तथा विभिन्न पालिकाका खेलाडीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।