नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायलाई समेटेर अन्तिम नामावली तय गरेको हो।
एमालेले आदिवासी जनजाति क्लस्टरबाट ४ जनालाई सांसदका रूपमा चयन गरेको छ। महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य परेका छन्।
खस आर्य समूहबाट सबैभन्दा धेरै ५ जनाको नाम टुंगो लगाइएको छ। यस क्लस्टरको पहिलो नम्बरमा रहेकी पार्टीकी केन्द्रीय सचिव पद्यमा अर्याल र अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल सांसद बनेका छन्। अर्याल स्याङ्जा र हमाल लमजुङकी हुन्।
खस आर्यकै पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराललाई चयन गरिएको छ भने सोही समूहको पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल सांसद बनेका छन्।
बैठकले थारु समुदायबाट १ जना पुरुष कृपाराम राणालाई सांसद बनाउने निर्णय गरेको छ।
दलित कोटाबाट २ जना महिला सांसद छानिएका छन्, जसमा विष्णुमाया वीके र नीता घटानी रहेका छन्।
मधेसी क्लस्टरबाट ३ जनाको नाम टुंगो लाग्दा २ महिला र १ पुरुष परेका छन्। महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल सांसद बनेका छन्।
त्यस्तै मुस्लिम समुदायबाट १ जना महिला साजिदा सिद्दीकीलाई सांसदका रूपमा चयन गरिएको छ।