Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

काँग्रेस कैलाली–३ (ख) सभापतिमा चन्दको उम्मेदवारी

  • कैलाली दर्पण
  • शुक्रबार, अशोज ९, २०८३
काँग्रेस कैलाली–३ (ख) सभापतिमा चन्दको उम्मेदवारी

०९ असोज/ नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर–३ (ख) प्रदेश सभा कार्यसमितिको सभापति पदमा लोकबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने कैलाली क्षेत्र नम्बर–३ (ख) को प्रदेश सभा अधिवेशनलाई लक्षित गर्दै चन्दले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। चन्द घोडाघोडी नगरपालिका–५ का नेपाली काँग्रेसका निवर्तमान वडा सभापति हुन्।

उनी यस पटकको वडा अधिवेशनबाट कैलाली क्षेत्र नम्बर–३ अन्तर्गत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए। वडा तहदेखि नै पार्टी सङ्गठन निर्माण तथा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका चन्दले प्रदेश सभा क्षेत्रीय सभापतिको जिम्मेवारी पाएमा सङ्गठनलाई थप व्यवस्थित, सुदृढ र चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै चन्दले पार्टी सङ्गठन विस्तारसँगै नेता तथा कार्यकर्ताबिचको समन्वय र सहकार्यलाई प्राथमिकता दिने बताएका छन्। साथै, युवा तथा नयाँ पुस्तालाई पार्टी सङ्गठनमा सक्रिय रूपमा जोड्दै पार्टीका गतिविधिलाई वडा तथा टोल तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उनको भनाइ छ।

त्यस्तै, क्षेत्रभित्र रहेका पार्टीका नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको सुझाव र भावनालाई समेट्दै एकताबद्ध र सक्रिय सङ्गठन निर्माणमा भूमिका खेल्ने उनले बताएका छन्। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै सबै तहका नेता तथा कार्यकर्तालाई समान रूपमा समेटेर अघि बढ्ने उनको प्रतिबद्धता छ।

चन्दले आगामी अधिवेशनमा आफूलाई सभापति पदमा सहयोग तथा समर्थन गरी पार्टी सङ्गठनलाई थप बलियो बनाउँदै सक्रिय रूपमा काम गर्ने अवसर प्रदान गर्न सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

उम्मेदवारी घोषणाका क्रममा चन्दले भने, “मैले लामो समयदेखि काँग्रेसको सिपाही भएर काम गर्दै आएको छु। अब क्षेत्र नम्बर–३ (ख) मा पार्टीलाई नयाँ उचाइमा पु¥याउन मेरो उम्मेदवारी हो।”

कैलाली क्षेत्र नम्बर–३ (ख) को प्रदेश सभा अधिवेशन नजिकिँदै गर्दा सभापतिसहित अन्य पदमा समेत उम्मेदवारीका आकाङ्क्षीहरूबिच भेटघाट, छलफल तथा आन्तरिक तयारी तीव्र बन्दै गएको काँग्रेसका स्थानीय नेताहरू बताउँछन्।

सम्बन्धित समाचार
ताजा अपडेट