माघ १८/नेकपा एमालेले आफ्नो चुनावी अभियानलाई वडास्तरसम्म विस्तार गर्ने क्रममा कैलाली निर्वाचन क्षेत्र नं. २ अन्तर्गत मोहन्याल गाउँपालिकामा वडा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
आइतबार आयोजित कार्यक्रमका बीच नेकपा एमालेका केन्द्रीय सदस्य तथा मूल निर्वाचन परिचालन समिति संयोजक कमला कुमारी ओली, केन्द्रीय सदस्यहरू झपट बहादुर रावल र पवित्रा तिमिल्सेना तथा कैलाली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सूर्य बहादुर थापालगायत पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिमा वडा सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।
कैलाली निर्वाचन क्षेत्र नं. २ मा कुल २६ वटा वडा रहेका छन्, जसमध्ये मोहन्याल गाउँपालिकाका ६ वटा वडा पर्छन्। ती वडाहरूमा नेकपा एमालेको विशेष प्रभाव रहँदै आएको छ भने उम्मेदवार सूर्य बहादुर थापाको व्यक्तिगत पकड र जनसमर्थनसमेत बलियो रहेको पार्टीको दाबी छ ।
नेकपा एमाले कैलाली क्षेत्र नं. २ मा चुनाव केन्द्रित आफ्ना रणनीतिलाई थप सुदृढ बनाउँदै वडास्तरमै संगठन विस्तार र जनसम्पर्कलाई आक्रामक रूपमा अघि बढाइरहेको छ । वडा सम्पर्क कार्यालय स्थापनासँगै पार्टीको चुनावी गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ ।