आसन्न स्थानीय तह निर्वाचनमा अछामको तुर्माखाँद गाँउपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट उपाध्यक्ष पदमा युवा नेता निर्मला धमाला न्याैपानेको दाबी रहेको छ । विद्यालयकाल कक्षा ८ मा अध्यनरत रहँदा देखि नै श्री सिद्धेश्वरी मा.वि धमाली अनेरास्ववियु प्रारम्भिक कमिटीमा आबद्ध रहेर सक्रिय राजनीतिमा क्रियाशील रहनुभएका न्याैपानेले पालिकास्तरीय पार्टी पक्तिका वडा कमिटी देखि पालिका कमिटी , प्रदेश, क्षेत्र र जिल्ला हुदै अछामबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुसंगको छलफल पछि उपाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुग्नुभएको हो । उहाँसंगै एमाले तुर्माखाँदले विमला शाही र सिद्धरा शाहीको नाम समेत उपाध्यक्षमा सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको छ ।
गत निर्वाचनमा नै नेकपा(एमाले) बाट उपाध्यक्षको लाागी आकांक्षी उहाँ आठौं जिल्ला अधिवेशनमा लोकप्रिय मतको साथ जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभएको छ । वि.संं २०६४ सालमा अनेरास्ववियुमा आवद्ध भएर राजनीतिमा हाेमिनु भएका निर्मला धमाला न्याैपानेले वि.स. २०७३ सम्म दुई कार्यकाल नेकपा(एमाले)काे अछाम प्रतिनिधि शभा निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर- २ काे सचिवालय सदस्य र वि.संं २०७४ देखि गाउँपालिका कमिटी सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुखकाे जिम्मेवारी सफलतापूर्वक पूरा गरिसक्नुभएकाे छ । हाल सम्म कुनै पनि लाभको पद नलिएकी युवा नेता न्याैपाने हाल सम्म स्वच्छ छवि बनाउनुका साथै राजनीति बैचारिक तथा जनमतका हिसाबले बलियाे मानिन्छन् भने युवा,विद्यार्थी र बुद्धिजीवीका माझ पनि उत्तिकै लोकप्रिय मानिन्छन् ।
अब पालिकाको उपाध्यक्ष भएसगैँ विकास पूर्वाधार सहित शिक्षा, स्वास्थ्य, रोजगारी, महिला सशक्तिकरण, बालबालिकाहरुको हक तथा अधिकारको रक्षा, पर्यटन प्रबद्धन, धार्मिक सम्पदाको संरक्षण लगायतको लागी अहोरात्र खटिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिबद्धताहरू : शिक्षा :- विकासको मेरुदण्ड शिक्षा हो । शिक्षा प्राप्त भए हामीले जहाँ गएर जे सुकै काम गरेर भए पनि आफ्नो भविष्य उज्ज्वल बनाउन सक्छौँ । गुणस्तरीय शिक्षा भए, जहाँ पनि प्रतिस्पर्धा गर्न सक्छौँ । त्यसैले सुलभ र गुणस्तरीय शिक्षा मेरो पहिलो प्राथामिकता हो । त्यसमा पनि महिला वा बालिकालाई विशेष प्राथामिकतामा राखेर शिक्षा नीति बनाउनुपर्छ भन्ने मेरो प्रतिवद्धता छ ।
स्वास्थ्य :- हाम्रा लागि स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय हो । बिरामी पर्दा सुर्खेत ,नेपालगन्ज वा त्यो भन्दा टाढा जानुपर्ने बाध्यता हटाउनु छ । त्यसका लागि हाम्रो गाउँमा सुविधा सम्पन्न अस्पताल बनाउनु छ । घर नजिकै पायक पर्ने स्थानमा क्लिनिक बनाउनु छ । सुरक्षित सुत्केरी, गर्भवती सुरक्षा हामी दिदीबहिनीका लागि अर्को महत्वपूर्ण विषय हो । कुनै पनि सुत्केरीले मृत्युवरण गर्नुनपरोस भन्ने हिसाबले सुरक्षित मातृत्व कार्यक्रम लागू गर्नुपर्छ । सडक :- विकासको अर्को महत्वपूर्ण विषय सडक हो । शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सडक अति आवश्यक छ । गाउँका हरेक टोललाई जोड्ने गरी सडक सञ्जाल बनाउनुपर्छ । तर, त्यस्ता सडकले हाम्रो खेतीपाती गर्ने जग्गा जमिनको सकेसम्म कम क्षति हुनुपर्छ भन्ने हाम्रो सर्त हुनुपर्छ । तुर्माखाँद-पुनेपाटा -धमाली हुँदै तुल्ता जाेडिएकाे सडकको स्तर उन्नति,तुर्माखाँद-बासकाडा-बगुरबजार हुँदै कुनिगडा जाेडिएकाे सडककाे स्तर उन्नति,तुर्माखाँद-भैरवस्थान हुँदै भुलु जाेडिएकाे सडककाे स्तर उन्नति गरेर उक्त सडकमा नियमित गाउँपालिकाका कम्तिमा ३ वटा बसहरु सञ्चालन मेराे बिशेष प्राथमिकतामा हुनेछन ! रोजगारी :- हाम्रो अर्को ठूलो चुनौती वेरोजगारी हो ।
वेरोजगारीका कारण हाम्रो जीवनस्तर उच्च बन्न सकेको छैन। वर्षमा ६ महिना काम गर्दा तीन महिना पुग्ने उब्जाउ गर्न सकिँदैन । जसले गर्दा कालापहाड वा विदेश जानुपर्ने हाम्रो नियती छ । त्यसलाई बदल्न अब हामील रोजगारीबारे विषय काम गर्नुपर्ने हुन्छ । हाम्रो गाउँमा हामीले कृषिलाई नै रोजगारी बनाउन सक्नुपर्ने छ । यहाँ पशुपालनबाट महनग्य आम्दानी हुने कार्यक्रम ल्याउनुछ । त्यसका लागि सहज ऋण, पशु सेवा, तालिम जस्ता विषय प्राथामिकतामा राख्नुपर्छ । अब निर्वाहमुखी किसानी होइन, व्यवसायिक किसानी गर्नुछ । यहाँ जे उत्पादन हुन्छ त्यसको उत्पादन बढाएर बजारसम्म पुर्याए हामीले गाउँमै पैसा कमाउन सक्छौँ । जसले हाम्रो जीवनस्तर उकास्ने छ। अन्घविश्वास :- हाम्रो विकासको बाधक अन्धविश्वास एक समस्या हो । हामी विरामी पर्दा अझै अस्पताल नगएर धामी झाँक्रीमै विश्वास गर्छौ ।
छाउ गोठमा बस्नुपर्ने हाम्रा दिदिबहिनी, आमाहरुको अर्को समस्या छ । छोरीलाई नपढाउने समस्या पनि छ । यी सबै कुरिती हटाउनु छ । र एक सभ्य समाजको निर्माण गर्नु छ । यी सबैका लागि शिक्षा नै पहिलो सर्त हो। त्यसैले मेरो पहिलो प्राथामिकता शिक्षा रहेको छ । निर्णय प्रक्रियामा सहभागिता :- हामीले जनप्रतिनिधि भइसकेपछि जनताको आवाज सुन्नुपर्छ । निर्वाचित भएपछि जनताको कुरा नसुन्ने अच्चम्मको समस्या नेताहरुमा देखिन्छ । त्यसैले हामीले गरेका वाचा पूरा गर्न र आवश्यकताअनुसार कार्यक्रम बनाउन जनताको सुझाव लिइनेछ । सुझावअनुसार स्थानीय आवश्यकता अनुसार कार्यक्रम बनाइनेछ । भ्रष्टाचार विरोधी अभियान :- हामी अहिले जुन अवस्थामा छौँ, त्यसको एक कारण भ्रष्टाचार हो । राज्यले दिएको रकम हामीले सदुपयोग नगरी आफ्नो पाकेटमा हाल्ने काम रोक्नुपर्छ ।
योजनामा हुने भ्रष्टाचार होस् वा कुनै रोजगारीका लागि दिइने घुस त्यो बन्द हुनुपर्छ । घुस र भ्रष्टाचारमा नियन्त्रण गरियो भने हामीले बनाउन चाहेको सभ्य समाज बनाउन कुनै समस्या हुने छैन । सामाजिक न्याय :- समाजमा विभिन्न वर्ग छन् । जातजाति छन् । पछाडि पारिएको वर्ग तथा जातजातिलाई मुलधारमा नल्याइ विकास हुँदैन । त्यसैले जातका नाममा होस वा, लिंगका नाममा वा आर्थिक अवस्थाका नाममा । पछाडि परेको समूदायलाई मुलधारमा ल्याउन सामाजिक न्याय दिइनेछ ।