सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखको जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । जिल्लास्थित कवर्डहलमा सातौं अधिवेशन सुरु भएको हो । यो अधिवेशनबाट जिल्ला कार्यसमिति छनोट गरिने छ । अध्यक्ष, उपाध्यक्ष, सचिव एक/एक जना, उपसचिव दुई जना र बाँकी सदस्य गरी दैलेखमा १ सय ५ सदस्यीय कार्यसमिति चयन हुने छ। अधिवेशनको उद्घाटन समारोह आज भएपनि भोली (शनिबार) विहान ८ बजेदेखि बन्द सत्र सुरु हुने बताइएको छ ।
एमाले स्रोतका अनुसार बन्दसत्रपश्चात निर्वाचन समिति र निर्वाचन कार्यतालिका सार्वजनिक हुने छ । वडाबाट छनोट भैआएका ७ सयभन्दा बढी प्रतिनिधीहरु अधिवेशनमा सहभागी हुने छन् । अध्यक्षका आकांक्षी को –को ? नेकपा एमाले दैलेखको अध्यक्ष पदका लागि ६ जनाको नाम चर्चामा छ । हालसम्म बहालवाला अध्यक्ष सहित ६ जना चर्चामा रहेका हुन् ।
प्रतिनिधी सभा सदस्य एवंम् बहालवाला जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, प्रदेश सभा सदस्य शुसील थापा, चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्य बहादुर शाही, दैलेख एमालेका संस्थापक नेता कर्ण खड्का, पूर्व जिल्ला विकास समिति उपसभापति सुर्य बहादुर शाही, पाटन औद्योगिक क्षेत्रको अध्यक्ष समेत रहेका नन्द किशोर बस्नेत चर्चामा छन् । नेकपा एमालेको विधान महाधिवेशनमा प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने व्यवस्था भएकोले व्यक्तिगत रुपमा निर्वाचनमा प्रतिस्पर्धा हुने बताइएको c छ।