कैलालीको टीकापुरमा प्रणय दिवसको अवसरमा गुलाब रोप्ने काम सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले नगरपालिकाको आँगनमा गुलाब रोपेर गुलाबी शहर बनाउने अभियानको शुभारम्भ गरेका छन् । मन्त्री चौधरीले पर्यटकीय क्षेत्र टीकापुरलाई गुलाबको शहर बनाउने नगरपालिकाको कामले प्रदेशको पनि गौरव बढेको र मन्त्रालयका तर्फबाट सहयोग गर्न प्रतिबद्धता जनाए। ‘गुलाब फुल्ने टीकापुर पार्कलाई संरक्षण गर्ने र टीकापुर पार्कजस्तै बजारमा पनि गुलाब फुलाउनुपर्छ’ मन्त्री चौधरीले भने, ‘प्रदेशको वन मन्त्रालयबाट १० हजार फलफूल र शोभायुक्त बिरुवा उपलब्ध गराउने प्रतिवद्धता जनाए का छन् ।
प्रदेश सभा सदस्य ललिता सुनारले पनि प्रेम दिवसमा सुरु भएको गुलाब रोप्ने अभियान प्रेमपूर्वक अघि बढ्ने अपेक्षा गरिन्। टीकापुरको शहरी क्षेत्रमा गुलाब फुलाउन विभिन्न विद्यालय, व्यापारिक फर्मलाई जिम्मा लगाइएको छ। गुलाबको शहर बनाउने योजनाले व्यवसायीहरु उत्साहित भएका छन्।होटल व्यवसायी कृष्ण न्यौपाने बहुजाती, बहुभाषी टीकापुरमा गुलाबको प्रवर्धनले जातजातीबिच आत्मियता बढ्ने अपेक्षा व्यक्त गरे। अर्का व्यवसायी टीकाराम जोशी गुलाबको फूलको प्रवर्धन गरेर टीकापुर द्वन्द्वमा होइन सामाजिक सद्भाव मेलमिलाप छ भन्ने देखाउन सकिने बताएका छन् । टीकापुर नगरपालिकाको गुलाबी शहर अभियानमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट पाँच लाख सहयोग प्राप्त भएको छ।
नगरपालिकाले मुख्य शहरको एक हजार ६ सय मिटर लम्बाइको सडकको दुबैतिर क्यारीलाई तारबार गरेर २७ वटा समूहलाई बाँडिदिएको छ। आफ्नो जिम्मामा परेका क्यारीमा विद्यालय, संघ संस्था र व्यापारिक फर्महरुले गुलाबका बोटहरु किनेर रोप्ने र हुर्काउने जिम्मा लिएका छन्। यो क्षेत्रमा आठ हजार बिरुवा लाग्नेछन्। ५० भन्दा बढी प्रजातिका गुलाबहरु फुल्ने टीकापुर पार्कका कारण टीकापुर पर्यटकीय शहर मानिन्छ। टीकापुर पार्कमा वर्षमा दुई लाखभन्दा बढी पर्यटक घुम्न आउने गरेका छन । टीकापुर नगरपालिकालाई गुलाबको शहरका रुपमा चिनाउन लागीएको नगर प्रमुख रामलाल डँगौरा थारुले बताएका छन् ।