कैलालीको लम्कीचुहा नगरपालिका–९प्रतापपुरस्थित श्री प्रतापपुर ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष ईश्वरप्रसाद जैशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा वडा अध्यक्ष रामप्रसाद चौधरी, विशिष्ट अतिथिमा सरस्वती माविका प्रधानाध्यापक डेबिटबहादुर शाही रहेका थिए ।
साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को ३२ लाख १६ हजार १८६ रुपैयाँ ८० पैसा बराबरको आयव्यय विवरण कोषाध्यक्ष रीता कुमारी खनालले प्रस्तुत गरेकी थिइन्। त्यस्तै, लेखा समिति सदस्य गणेशप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८३/०८४ का लागि ८० लाख ९० हजार रुपैयाँ बराबरको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए।
४९७ जना सेयर उपभोक्ता रहेको उक्त संस्थाको दुवै प्रतिवेदन साधारणसभाबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
संस्थाका उपाध्यक्ष लक्ष्मी विकको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा प्रतापपुर बजार व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद तिमिल्सिना, दुर्गौली ग्रामीण विद्युत सहकारी संस्थाका प्रबन्धक हर्कदेव भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
सभामा अध्यक्ष जैशीले प्रस्तुत गरेको प्रतिवेदनमा आगामी कार्ययोजनाबारे जानकारी दिँदै एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने उपभोक्ताका छोराछोरीलाई प्रोत्साहनस्वरूप छात्रवृत्ति प्रदान गर्ने तथा सेयर सदस्यहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम आयोजना गर्नेलगायतका योजना समेटिएको जानकारी गराइएको थियो।
जानकी आधारभूत विद्यालय खरौलाका प्रधानाध्यापक खड्कबहादुर चौधरीले संचालन गरेको कार्यक्रममा उपभोक्ता समाजसेवी बुद्धिजिवि लगायतको उपस्थित रहेको थियो।
