सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । यो सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो । आज गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेष गरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने चलन रही आएको छ । कन्दमूल खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ ।
आज तरुल खानै पर्ने मान्यताअनुरूप सहरी क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्छ भने ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको र जङ्गलमा पाइने तरुल उसिनेर खान्छन् ।
पुस पन्ध्रपछि जाडो सकिँदै जाने जनविश्वासका कारण परम्परागतकाल देखिनै कञ्चनपुरसहित बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, कैलाली, कञ्चनपुर र भारतको कुमाउ गढवाल क्षेत्रमासमेत रातभरि जाग्राम बस्दै आगो तापेर कथा कहानी सुनाएर र गीत गाएर पुसे पन्ध्र मनाउने गरिन्छ । यस बेलादेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुने गर्दछन्।