Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पहिरोले जंगलमा पुर्याएकाहरु, जो ज्यान जोगाउन जाग्राम बस्छन्

  • कैलाली दर्पण
  • शुक्रबार, पुस २९, २०७९
पहिरोले जंगलमा पुर्याएकाहरु, जो ज्यान जोगाउन जाग्राम बस्छन्

ईन्द्रा केसी
कैलाली
कैलालीको चुरे गाउपालिका ६ गौजेनाकी ५५ बर्षिय तुल्सी बोहोरा आफ्नो १४ रोपनी जग्गामा अन्नबाली उत्पादन गरेर जीविकोपार्जन गर्दै आइरहेकी थिइन् । त्यहि जग्गामा उनको घर थियो । दुई वर्ष पहिले उनको परिवार आफ्नो पुर्ख्यौली थाक थलोबाट सधैंका लागि विस्थापित भए ।
२०७७ असोज महिनामा परेको अविरल वर्षा पछी घर माथिबाट आएको पहिरोले उनको घरबारी मात्रै लगेन खुशीहरु समेत छिनेर लग्यो। गौजेनाकै ५२ बर्षिय गंगा बोहोराको पीडा पनि त्यो भन्दा कम छैन । उनले घरबास सहितको १२ कठ्ठा जग्गा तुल्सी बोहोरा सँगै गुमाइन् । बस्ने घर,गरिखाने जमिन, भएको अलिअली अन्नपात र लत्ताकपडा सबै पहिरोसंग बग्यो ।
“केही जोगाउन सकिएन, जसोतसो प्राण जोगियो“ आँखाभरी आँशु पार्दै उनले सुनाइन“सबैथोक भएका हामी हेर्दा हेर्दै सबै सकियो ं।“
तुल्सी र गंगा जस्ता दर्जनौ परिवारहरु रातारात सडकमा आए । उनीहरु सबैकोक्षती र पीडा उस्ता उस्तै थियो । धनमाल जोगाउन नसकेकाहरु त्यही बसेर ज्यान जोखिममा पार्न चाहेनन्, सुरक्षित वासस्थानको खोजीमा निस्के ।
तुल्सी चुरे गाँउपालिका वडा नं.–४ चुरे फेदमा रहेको पनेरुवागडा स्थित राष्ट्रिय वनमा टहरो बनाई बस्न थालिन्,गंगा पनि त्यहि टहरो भित्र अटाइन्। यी टहरामा केहि मात्रामा मात्रै पुरुषहरु भेटिन्छन । पुरुषहरु हरू कहाँ छन् त भन्ने जिज्ञाशामा उनले सुनाईन्, यै टहरो कुरेर बसे के खाने ? के लाउने ? हातमुख जोर्न भएपनी केही कमाउनै पर्यो कमाउन भारत गएका छन त्यसैले त यहाँचुलोबल्छ ।
बाढि पहिरोले घरबास उजाडिएपछि जिल्ला विपत व्यवस्थापन समितिले केहि समयका लागि भन्दै पनेरुवागडा स्थित राष्ट्रिय वनलाई विस्थापितहरु बस्ने गरि टहरा निर्माण गरिदियो ।
ज्यान जोगाउन जाग्रामः
आफ्नो पुरानो ठाउँबाट सबै गुमाएर जंगलमा पुगेका हरुलाई यहाँ पनि त्यतिकै जोखिम छ । ठूलो पानी पर्दा उनीहरुलाई निद्रा पर्दैन । चुरेको कमजोर भू–बनोट,त्यसैमाथि सामान्य बर्षामा पनि उर्लेर आउने खहरे खोलाले उनीहरुलाई झन् त्रास दिइरहन्छ ।
नदीले घेरिएको क्षेत्रमा जोखिम पूर्ण रूपमा अस्थायी बसोबास गरिरहेका उनीहरू लगातार भारी वर्षाको बेला नदीमा पानीको सतह बढ्ना साथ ज्यानै जोगाउनका लागि भएपनी रातभरी नसुती बाढीको अवस्था हेर्ने र अरू विकल्प सोच्ने गर्छन ।
“पानि पर्न सुरु गर्यो भने बच्चा काखमा च्यापेर रातभरि नसुति बस्छु, केटाकेटी सानै छन कति बेला बगाउछ भन्नेपिर हुन्छ“स्थानिय पद्मा कुमारी रावतले पीडा पोखिन् ।
७५ बर्षिया नखरी देवी धामिको पनि टहरो नदी नजिकै छ । उनको सहारा भनेको ३ बर्षीया नातिनी मात्रै छिन् ।“पहिरोले सबै लगेपछि कमाउनका लागि छोरा बुहारी भारत छन“ उनी भन्छिन“पानी पर्न थालेपछि नातिनी च्यापेर अर्काको टहरोमा जान्छु ।“
आफू बुढी भएको र नातिनी सानै भएको हुँदा बाढी आईहाले के गर्ने भन्ने चिन्ता आकाशमा बादल मडारिदा नै हुने उनी बताउछिन् । ७० बर्षिया डिग्रा देवी साँउद,७५ बर्षिया गोल्मा गुरुङ्ग ,६० बर्षिया हिमा देवी खत्री लगायत यहाँ बस्ने सबैको पीडा उस्तैछ । कहिले बाढी त कहिले जंगली जनावरको आतंक उनीहरु रात परेपछि राम्ररी निदाउन सक्दैनन् ।
पुरुषहरु रोजगारीका लागि भारत गएपछि वृद्धवृद्धा, महिला र बालबालिका मात्र बस्ने भएकोले सबै कुराबाट आफूहरूलाई डर रहेको उनीहरूको भनाई छ ।

मानवीय कारण सहित जलवायु परिवर्तनलेको असरले बाढी पहिरोमा वृद्धी
हरित गृह ग्यासको उत्सर्जन बढे सँगै पृथ्वीको तापक्रम पनि बढेको छ । सन १८८० देखि प्रतिदशक ०.१४ डिग्रीफारेनहाइट (०.०८ डिग्रीसेल्सियस) ले पृथ्वीको तापक्रम बढेको पाईएको छ । सन १९८१ यताको तापक्रम भने दोब्बर भन्दा बढीले वृद्धि भएको छ । त्यस यता हरेक एक दशकमा ०.३२ डिग्री फरेनहाइट (०.१८डिग्रीसेल्सियस) ले तापक्रम वृद्धि भएको राष्ट्र सङ्घीय वातावरण कार्यक्रम (यूनेप) को तथ्याङ्कमा छ ।
वायुमण्डलीय तापक्रममा आएको परिवर्तनले विश्वव्यापी मनसुनी गतिविधीमा समेत परिवर्तन भएको जलवायु विज्ञ तथा मध्यपश्चिम विश्वबिद्यालय विज्ञान तथा प्रविधी संकायका प्रमुख उपकुल पति सुदिप ठकुरीको भनाई छ । जलवायु परिवर्तनको असरले मनसुनमा परिवर्तन हुने कुरा वैज्ञानिक तथ्यमा रहेको बताउदै उनले भने,मनसुन परिवर्तन हुनु जलवायु परिवर्तनको एउटा महत्वपूर्ण सुचक हो ।
सामान्यतया नेपालमा मनसुनको समय असार देखि भदौसम्मको हो (जुनकोमध्य देखि सेप्टेम्बर सम्म) तर अहिले मनसुनको समय पछाडि धकेलिएको देखिन्छ ।
बाढी, पहिरो र सुख्खा खडेरी पर्नु जलवायु परिवर्तनले नेपालमा पारेका प्रमुख प्रभावहरू हुन् । नेपालजस्तो मुलुकका लागि मनसुनको गतिविधीमा थोरै मात्र फरकले पनि पहाडी भेगमा ठूला ठूला पहिरो जाने र तराईमा बाढीको प्रकोप बढ्ने गरेको पाईएको छ । अझ अहिलेको अवस्थामा वातावरणीय पक्षको ख्याल नै नगरी गरिने मानवीय क्रियाकलापका कारण जलवायु शिर्जित समस्याहरूलाई थप संवेदनशिल र जोखिम बनाएको छ ।
समग्र देशमा जस्तै विगतको बर्षहरुलाई हेर्ने हो भने सुदुरपश्चिममा पनि निकै पानि परिरहेको छ । अतिवृष्टी संगै मानवीय गतिविधी विशेषगरी जथाभावी सडक निर्माणका कारण पहाडी भेगहरूमा पहिरो तथा तराईमा बाढीको प्रकोप बढ्ने गरेको बताउदै ठकुरीले भने,चुरेक्षेत्रको माटोको बनावट एकदमै खुकुलो हुन्छ, त्यहाँ पानि पर्ना साथ सानो पानीसंगै माटो र ग्रेगान बग्न थाल्दछ । पानी जमिनमा सोसिदैन जसले गर्दा पानी पर्नासाथ एक्कासी खोला नाला बढेर बाढि पहिरोजाने गरेको छ ।
वातावरणीय पक्षलाई ख्याल नराखी जथाभावी भू–बनोटमा परिवर्न गरिनु,बिभिन्न मानविय क्रियाकलाप हुनु र मनसुनको समयमा आएको परिवर्तन बाढी, पहिरोको कारण रहेको उनले वताए ।

निरीह निकायः
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कैलाली जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद्व् ब्यवस्थापन समिति गठन भएको छ । समितिमा जिल्ला समन्वय समितिका प्रतिनिधि,जिल्ला भित्रका स्थानीय तहका अध्यक्ष तथा प्रमुख लगायतका जिम्मेवार पदाधिकारी रहेका छन् । तर पनि २ वर्ष देखी आफ्नै ज्यानलाई जोखिममा राखेर चुरेको वनमा बसिरहेकाहरुको व्यवस्थापनमा यो समितिले केही गर्न सकेको छैन ।
यस्ता विपदमा परेका मानिसहरूका लागि भनेर जिल्लामा विपद्व् ब्यस्थापन कोष समेत छ । उक्त समितीबाट टहरो निर्माण बाहेक अन्य कुनै पनि किसिमको राहत नपाएको पिडितको गुनासो छ । न त गाँसको ठेगान छ, न पानीको, न स्वास्थ्य उपचारको केही छैन स्थानिय विश्ना शार्की भन्छिन हामीलाई सरकार भए नभएको केही महशुस छैन ।


दुई छाक टार्न श्रीमानलाई भारत पठाएको बताउने उनी सरकारले यहि केही व्यवस्था गरिदिए आफूहरुलाई सहज हुने बताउँछिन् । जंगलमा पाइने कन्दमुल खाएर हामीले सुरुमा भोक मेटाएका थियौँ स्थानीय हिमा देवी खत्रि भन्छिन,योजंगलमा बस्न भन्दा अन्तैलगेर राखिदिए बाचिन्थ्योकि ।
पहिरो बाट पिडित भएका उनीहरु अहिले बाढी र जंगली जनवारबाट पनि त्रसित छन् । त्यसै माथि बेला बेलामा वनकर्मचारीहरुले उनीहरुलाई हटाउने चेतावनी दिँदा लालाबाल लिएर कहाँ जाने भन्ने चिन्ताले सताउने गरेको उनीहरू वताउछन् । जलवायु परिवर्तनका अन्तराष्ट्रिय प्रतिवद्धता र विभिन्न राष्ट्रिय नीति तथा कार्यक्रमहरू नेपाल सरकारले निर्माण तथा कार्यान्वयन गरेको भएता पनी यो क्षेत्रका बाढी पहिरो पिडितहरूले भने कुनै पनि प्रकारको सहायता पाउन सकेका छैनन् । अझ विशेषगरी यस खालको समस्यामा महिला तथा बालबालिका प्रत्यक्ष मारमा परेका छन् ।
यता जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशाशकिय अधिकृत शिबराज जोशिले राष्ट्रिय वनमा टहरो बनाई बसेका पहिरो पिडितहरुलाई केहि समयका लागि मात्रै त्यहाँ राखेको र अर्को व्यवस्था भएमा उक्त क्षेत्र पिडितहरुले छोड्न पर्ने वताउछन । गाँउपालिका यो समस्या लिएर हामिकहाँ आएका थिए जोशिले भने, हामिले निर्णय गरेर केन्द्रमा पठाएका छौ ंकेन्द्रको निर्णय नआउन्जेल हाललाई केहि गर्न सकिदैन । हालकै स्थानमा व्यवस्थापन गर्ने वा अन्यत्र व्यवस्थापन गर्ने भन्ने कुरा केन्द्रको निर्णय पश्चात मात्र भन्न सकिने उनले वताए ।

तराईमा बाढीको सास्तीः
वेमौसमी तथा भारी वर्षाको कारण चुरे गाउपालिका जस्तै कैलालीको तल्लो तटिय क्षेत्रमा पर्ने भजनी, जोशिपुर,टिकापुर,धनगढी,गोदावरी तथा मोहन्याल लगायतका पालिकाका स्थानीयहरु पनि बाढिको समस्याबाट पिडित छन् । बाढीका कारण जोशीपुर गा.पा, भजनी र टिकापुर न.पा. का स्थानीयहरुले वर्षेनी झनैठूलो सास्ति झेल्नुपर्ने बाध्यता छ ।


गएको असोजमा आएको बाढीले भजनी न.पा. का स्थानीयहरुले अहिले भोकमरीको समस्या झेलिरहेका छन् । प्रत्येक बर्ष आउने बाढीले लगाएको अन्न बालि सबै सखाप पारिदिन्छ भजनीकी स्थानीय सुनिता जिसी भन्छिन्, खेती नै नलगाउ भने हुँदैन हरेक बर्ष लगााउछौं तर भित्र्याउन नपाउदै बाढीले लैजान्छ । बाढीबाट कैलालीमा मानिसहरुले बर्षेनि अकालमै ज्यान समेत गुमाईरहेका छन ।
जिल्ला विपद् व्यवस्थापन समितिले बाढी÷पहिरोबाट पिडितहरुलाई केहि राहत प्रदान गर्ने गर्दछ । आर्थिक बर्ष २०७८।७९ मा बाढीबाट कैलालीमा २ जनाले ज्यान गुमाए भने धेरै परिवार विस्थापित भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिले ज्यान गुमाएका परिवारका आश्रितलाई रू. २ लाखका दरले र बाढीबाट प्रभावित भएका ६ ओटा परिवारलाई जम्मा रू. ९० हजार राहत रकम प्रदान गरिएको वताएको छ ।
त्यस्तै आर्थिक बर्ष २०७९।८० मा ५ जनाले बाढीबाट ज्यान गुमाएका थिए, उनीहरुको परिवारलाई समेत रू. २ लाखका दरलेराहत र कम प्रदान गरिएकोर बाढीबाट प्रभावित भएका ७ जनाको परिवार लाई जम्मा रू. १ लाख ७ हजार राहत रकम प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समिति कैलालीले वताएको छ ।
कैलाली जिल्लामा सबैभन्दा बढी भजनी नगरपालिकाका स्थानीयहरु बाढीबाट प्रभावित छन् । गत असोज कार्तिकमा आएको बाढीबाट पिडितहरू घर नै छोडेर हुलाकी सडकमा बास बसे भने पछि बाढी कम हुँदैगए पछि घरफर्के । यो क्रम प्रत्येक बर्ष दोहोरी रहने स्थानीय वताउछन् ।

पिडितको पहिचानमा समस्या
चुरेका बाढी पिडित ५५ घरधुरीका लागि भनेर विपद् व्यवस्थापन समितिको समन्वयमा राष्ट्रिय वनको १० हेक्टर जमिनमा अस्थायी रूपमा टहरो बनाई बस्ने व्यवस्था गरियो । तर अहिले उक्त स्थानमा विभिन्न ठाँउबाट ४ सय भन्दा बढी घरधुरी बसोबास गरिरहेका छन । वस्ति बस्ने क्रम बढेको, जसले गर्दा वास्तविक पिडित पहिचानमा समस्या रहेको चुरे गाँउपालिकाका अध्यक्ष चक्र बोगटीले वताए ।
अर्को व्यवस्था नभए सम्म पिडितहरुलाई अन्त सार्न सकिदैन,उनले भने तर वास्तविक पिडितहरुको पहिचान गर्न आवश्यक छ । यसरी अन्धाधुन्ध जो पनि आएर बस्ने हो भने वास्तविक पिडितको व्यवस्थापनमा समेत समस्या हुने उनको भनाई छ ।
अस्थायी रूपमा बाढी पिडितका लागि मात्रै बस्न दिएको तर अहिले जताततैबाट मानिसहरू बस्न आएकोले पालिकाले गाँउपालिकाका उपाध्यक्षको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको र उक्त कार्यदलले चाडै नै वास्तविक पिडित पहिचान÷छानबिनको प्रक्रिया सुरु गर्ने उनले वताए । उनी भन्छन्, बसोबासका लागि त्यहाँ धेरै समस्या छ, केहि समयका लागि भए पनि खानेपानिको व्यवस्था गरेका छौ ंबालबालिकाका लागि अस्थायी विद्यालयको अनुमति दिएका छौं छिटै बस्ति व्यवस्थापन गर्ने प्रयास गर्नेछौ ं।
चुरेका बास्तविक पिडितहरुको छानबिन नभएकाले उनीहरुलाई सहयोग गर्न समस्या भएको चुरे गााउपालिकाका उपप्रमुख धना देबि थापाले बताईन । गएको असोज कार्तिकको समयमा केहि सहयोग गर्ने योजना बनाएको बताउदै उनले भनिन,हामि संग भएको तथ्यांकमा पनेरुगडा र ताकगडामा गरि २७६ घरधुरी पिडित छन तर त्यहा ४०० भन्दा बढि घरधुरी रहेका छन त्यसैले सहयोग गर्न सकेनौ । उनीहरुलाई अहिले सम्म गाउपालिकाबाट कुनै पनि सहयोग नगरेको उनको भनाई छ । बास्तबिक पिडितहरुको पहिचान नभए सम्म कुनै पनि सहयोग गर्न सक्दैनौ । छिटै नै वास्तविक पिडितहरुको छानबिन गर्ने प्रयास भइरहेको उनले बताईन ।
कैलालीका धेरै सामुदायिक वन र राष्ट्रिय वनहरुमा कतिपय बाढी पिडित र कतिपयले बाढी पिडितका नाममा बसोबास गरिरहेका छन् । कैलालीको बसन्ता वन संरक्षण क्षेत्र अन्र्तगत पर्ने हुलाकी राजमार्ग आसपासका वनक्षेत्र, भजनी ९ स्थित जनज्योती सोनीया सामुदायिक वन र भजनी बजार नजिकैका वनक्षेत्र लागायतका सामुदायिक वनहरुमा कही स्थानीय र कहि अन्यत्र बाट आएर बाढि पिडितका नाममा बसोबास गरिहेका छन ।

यो आलेख UKAID को सहयोग प्राप्त ब्रिटिस काउन्सिलको रोड टु कप अभियान अन्तर्गत जलवायु परिवर्तनमा महिला रिपोर्टर अनुदानको सहयोगमा तयार पारिएको हो ।

 

सम्बन्धित समाचार
ताजा अपडेट