असोज १९/ हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडा दशैँअन्तर्गत आज विजयादशमी टीकाको दिन रहेको छ। आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद प्राप्त गर्ने प्रचलन रहि आएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार टीकाको साइत उत्तम साइत आज बिहान ११ः५१ बजेको रहेको जनाएको छ। टीका लगाउनुअघि देवी विसर्जन गर्ने गरिन्छ।
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए।
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।
विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिएको छ। यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ। (रासस