असोज ९/एक अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा सुनसरीको धरानबाट एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का ज्योति शाही रहेका छन्। उनलाई सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले बिहीबार धरानको खैरेनीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार शाहीले १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको पाइएको छ।
शाहीले केही व्यक्तिसँग मिलेर घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा दर्ता गरी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका थिए।
मनी ट्रान्सफरकै नाममा ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।