Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया–१ मा विद्यार्थीलाई ट्राफिक सचेतना,सडक सुरक्षाबारे जानकारी

  • कैलाली दर्पण
  • बिहिबार, असार १८, २०८३
बर्दगोरिया–१ मा विद्यार्थीलाई ट्राफिक सचेतना,सडक सुरक्षाबारे जानकारी

कैलाली । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को आयोजनामा वडा नम्बर १ स्थित नोबेल माध्यमिक विद्यालयमा एकदिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना गराउन सो कार्यक्रम आयोजना गरिएको हो ।

वडा अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीलाई ट्राफिक नियमको ज्ञान दिन यस्ता कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताउनुभयो । उहाँले सिकेका कुरालाई दैनिक जीवनमा व्यवहारमा उतार्न र अरूलाई पनि ट्राफिक नियम पालना गर्न प्रेरित गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा ट्राफिक नियमको पालना, सुरक्षित सडक प्रयोग, जेब्रा क्रसिङको प्रयोग, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने, तीव्र गति नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरणका उपायबारे ट्राफिक प्रहरी कार्यालय बौनियाका प्रहरी नायब निरीक्षक राजिब चन्द र प्रहरी जवान योगेन्द्र नेपालिले सहजीकरण गर्नुभएको हो ।
सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट ट्राफिक अनुशासन र सडक सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेको बताएका थिए ।

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष मिथुन गौतमले सडक दुर्घटना न्यूनीकरणका लागि समुदाय र विद्यालय तहबाटै ट्राफिक सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
जुनकीरी नेपाल कि अध्यक्ष अपेक्षा रोकायाले स्वागत गरेको कार्यक्रमको संचालन पदम राज ओझाले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट