२८भाद्र/ जापानीज इन्सेफलाइटिस (जे.ई.) रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि लम्कीचुहा नगरपालिका-६ पिपरकोटीमा एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ।
वडा अध्यक्ष लोकेन्द्र कठायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, भलमन्सा, क्लबका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, रेडक्रसकर्मी, पत्रकार, चौकीदारलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण सामुदायिक स्वास्थ्य इकाई प्रमुख नरेन्द्र बहादुर थ्यायतले गर्नुभएको थियो।
कार्यक्रममा जापानीज इन्सेफलाइटिसको जोखिम, खोपको महत्व तथा अभियान सञ्चालनबारे जानकारी गराइएको थियो।
अभियानअन्तर्गत गर्भवती महिला, एचआईभी/एड्स संक्रमित, १०२ डिग्री फरेनहाइटभन्दा माथि ज्वरो आएका तथा विगतमा खोप लगाउँदा रियाक्सन भएका व्यक्तिबाहेक ३० वर्षदेखि माथिका उमेर समूहलाई खोप लगाइने जनाइएको छ।
लम्कीचुहा नगरपालिका–६ को कार्यतालिकाअनुसार वडाका विभिन्न स्थानमा ८ वटा खोप केन्द्र तोकिएका छन्।
कार्यतालिकाअनुसार असोज १ गते गुलरा सामुदायिक भवन, शिवमन्दिर नजिक गुलरा, असोज २ गते रंगा देवी आवि. पिपरकोटी, असोज ३ गते बाघमारा खोप केन्द्र, असोज ४ गते शम्भुसुन्दा मावि चैनपुर, असोज ५ गते बामनपुर खोप केन्द्र, असोज ६ गते तिल्का चोक, असोज ७ गते जनहित आ.वि. लोहापुर र असोज ८ गते पिपरकोटी स्वास्थ्य केन्द्रबाट खोप सञ्चालन गर्ने तयारी गरिएको छ।
जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्न सक्ने गम्भीर संक्रामक रोग भएकाले यसको रोकथामका लागि खोप अभियानलाई प्रभावकारी बनाउन सबै संघसंस्था तथा सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्न अनुरोध गरिएको थियो।