Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा मंगल चौथी गणेश उत्सवको तयारी पूरा,भोलि अध्यक्ष कुँवरले उद्घाटन गर्ने

  • कैलाली दर्पण
  • आइतवार, भदौ २८, २०८३
बर्दगोरियामा मंगल चौथी गणेश उत्सवको तयारी पूरा,भोलि अध्यक्ष कुँवरले उद्घाटन गर्ने

कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा आयोजना गरिएको श्री सार्वजनिक मंगल चौथी गणेश उत्सव २०८३ को भोलि विधिवत् उद्घाटन गरिने भएको छ।

हिन्दु परम्पराअनुसार मंगल चौथी (गणेश चतुर्थी) को अवसरमा आयोजना गरिएको उक्त उत्सव धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको आयोजकले जनाएको छ।

उत्सवको औपचारिक उद्घाटन बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए।

उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, धार्मिक अगुवा तथा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

उत्सव अवधिभर बालक बाबाको कथा तथा प्रवचन, भगवान् श्री गणेशको विशेष पूजा–आराधना, आरती, भजन–कीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

मंगल चौथी अर्थात् गणेश चतुर्थी भदौ महिनामा मनाइने भगवान् गणेशको आराधनासँग सम्बन्धित महत्वपूर्ण धार्मिक पर्वका रूपमा लिइन्छ। उत्सवले स्थानीयस्तरमा धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै सामाजिक सद्भाव र एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट