Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनिया बजारमा दोस्रो वर्ष गणेश चतुर्थी उत्सवको भव्य शुभारम्भ ,मञ्चमै महिलाले मनाए हरितालिका तीज

  • कैलाली दर्पण
  • सोमवार, भदौ २९, २०८३
बौनिया बजारमा दोस्रो वर्ष गणेश चतुर्थी उत्सवको भव्य शुभारम्भ ,मञ्चमै महिलाले मनाए हरितालिका तीज

कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित बौनिया बजारमा दोस्रो वर्षको श्री सार्वजनिक मंगल चौथी गणेश उत्सव–२०८३ भव्य रूपमा शुभारम्भ गरिएको छ।

उत्सवको उद्घाटन बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र उपाध्यक्ष गणेशराज गिरीले संयुक्त रूपमा गर्नुभएको हो।

उपभोक्ता समिति सचिव नवीन ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि.क., बर्दगोरिया कलेजका अध्यक्ष भीम कुँवर, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वार, गायत्री मण्डलका अध्यक्ष रंगलाल जैसी, कार्यपालिका सदस्य सरस्वती बि.क., कलावती ढुंगाना लगायत स्थानीयको सहभागिता रहेको थियो।

उद्घाटन समारोहकै मञ्चबाट स्थानीय महिलाहरूले हरितालिका तीज विशेष कार्यक्रमसमेत आयोजना गर्दै तीज गीत तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। गणेश चतुर्थी उत्सवसँगै तीज विशेष कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो।

धार्मिक आस्था तथा सांस्कृतिक परम्परासँग जोडिएको उक्त उत्सवमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

सञ्चारकर्मी पदमराज ओझाले सञ्चालन गर्नुभएको कार्यक्रम सार्वजनिक मंगल चौथी गणेश उत्सव उपभोक्ता समितिका अध्यक्ष प्रकाश खड्काको सभापतित्वमा सम्पन्न भएको हो।

सम्बन्धित समाचार
ताजा अपडेट