कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा गुरही असरैना तथा सांस्कृतिक कार्यक्रम २०८३ सम्पन्न भएको छ । कैलाली इभेण्ट एण्ड मिडिया नेटवर्क प्रा.लि को आयोजनामा स्थानीय कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा थारू समुदायको मौलिक संस्कृति, परम्परा तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार संगै समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
उहाँले पछिल्लो समय आधुनिकतासँगै मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गएको भन्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
वडा अध्यक्ष थारुले संस्कृति संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा वडा कार्यालयले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सांस्कृतिक प्रस्तुतिसँगै कार्यक्रमले स्थानीय समुदायमा आपसी सद्भाव, एकता र मौलिक संस्कृतिप्रति संरक्षणमा महत्त्वपूर्ण भुमिका खेलेको छ ।
