Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जनकल्याण सामुदायिक वनद्वारा शिक्षा र पूर्वाधार विकासमा लाखौं सहयोग

  • कैलाली दर्पण
  • आइतवार, असार ७, २०८३
जनकल्याण सामुदायिक वनद्वारा शिक्षा र पूर्वाधार विकासमा लाखौं सहयोग

असार ७ – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनास्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको ७ औं वार्षिक साधारण सभा तथा आर्थिक वर्ष २०८२/०८३ को आमभेला सम्पन्न भएको छ।

सामुदायिक वनका अध्यक्ष जनक गिरीले ढलापडा काठ तथा दाउरा बिक्रीबाट प्राप्त आम्दानी शिक्षा, खानेपानी, सडक निर्माण तथा मर्मत, विद्यालयको भौतिक पूर्वाधार विकास तथा विपन्न उपभोक्ताको आर्थिक अवस्था सुधारमा खर्च हुँदै आएको जानकारी दिनुभयो।

उहाँका अनुसार वन विकास कार्यक्रमसँगै स्थानीय बासिन्दाको आवश्यकता र प्रत्यक्ष सरोकारलाई मध्यनजर गर्दै सार्वजनिक हितका कामलाई प्राथमिकतामा राखेर लगानी गरिएको छ। वनको आम्दानी संरक्षण र विकाससँगै सामाजिक क्षेत्रमा परिचालन गर्दा स्थानीय उपभोक्ताको जीवनस्तर सुधारमा समेत टेवा पुगेको उहाँले बताउनुभयो।

अध्यक्ष गिरीले सामुदायिक वनको आम्दानीमध्ये पहिलो प्राथमिकता वन संरक्षण र विकासलाई नै दिइएको स्पष्ट पार्दै वनका गतिविधिबाट स्थानीयस्तरमा रोजगारी सिर्जना भएको उल्लेख गर्नुभयो। उपभोक्ताको सेवाका लागि वनले ट्र्याक्टर खरिद गरेको तथा गरिब एवं न्यून आय भएका उपभोक्तालाई निःशुल्क ढुवानी सेवा उपलब्ध गराउँदै आएको उहाँको भनाइ थियो।

वन जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले वनको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा सम्पूर्ण उपभोक्ता तथा सरोकारवाला निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो। वनबाट प्राप्त लाभ वर्तमान पुस्ताका लागि मात्र नभई भावी पुस्ताका लागि समेत भएकाले वन विनाश होइन, संरक्षणको अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो।

सामुदायिक वनका अध्यक्ष जनक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोहन्याल गाउँपालिका–३ का कार्यवाहक वडा अध्यक्ष रतन प्रसाद भाट प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य नानी दमाई, सब–डिभिजन वन कार्यालय फलेबिसौनाका वनरक्षक नवराज भण्डारी, शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर बुढा तथा हिमालय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर गिरीलगायतको सहभागिता रहेको थियो।

वनका उपाध्यक्ष भीमबहादुर थापा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष निर्मला देवी बगाले मगरले आर्थिक वर्ष २०८२/०८३ को ३३ लाख ४२ हजार ५ सय ११ रुपैयाँ २ पैसाको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सहसचिव विष्णुबहादुर बुढाले गर्नुभएको थियो।

साधारण सभा तथा आमभेलाबाट शान्ति माध्यमिक विद्यालयलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ भने चाँदनी आधारभूत विद्यालयको खानेपानी व्यवस्थापनका लागि २ लाख रुपैयाँ सहयोग गरिएको छ।

त्यस्तै, दुर्गा खत्रीको घरदेखि पिच सडकसम्म ग्राभेल तथा खाल्टाखुल्टी व्यवस्थापनका लागि १ लाख रुपैयाँ, पलप गिरीको घरदेखि हिमालको घरसम्मको ग्राभेल सडकका लागि ५० हजार रुपैयाँ तथा गगन विकको घरदेखि जनक आउजीको घरसम्मको ग्राभेल सडक निर्माणका लागि १ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो।

सम्बन्धित समाचार
ताजा अपडेट