कैलाली — बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ देखि लागू हुने गरी माध्यमिक तह (कक्षा १२ सम्म) निःशुल्क अध्ययन सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ।
गाउँ कार्यपालिकाको २०८३ वैशाख ८ गते बसेको बैठकले उक्त कार्यविधि पारित गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले अघि सारेको “निःशुल्क शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने नीतिअनुसार कार्यविधि तयार गरिएको हो। यससँगै गाउँपालिकाभित्रका विद्यार्थीहरूले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन्।
यस निर्णयबाट विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रमा समान पहुँच विस्तार गर्ने उद्देश्यले ल्याइएको कार्यक्रमलाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ।
गाउँपालिकाले शिक्षा क्षेत्रको सुधार तथा गुणस्तर अभिवृद्धि गर्दै सबै नागरिकको शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ। स्थानीय अभिभावक तथा सर्वसाधारणले गाउँपालिकाको यस पहलको स्वागत गर्दै गाउँपालिका पहलप्रती प्रशंसा व्यक्त गरेका छन्।