कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा संत निरंकारी मिशनद्वारा आयोजित प्रादेशिक नारी सन्त समागम भव्य रूपमा सम्पन्न भएको छ।
समागममा ब्रह्मज्ञान प्रचारक डा. रीता यादवले विशेष प्रवचन दिँदै आत्मिक ज्ञान, नैतिक मूल्य र सकारात्मक जीवनशैलीबारे प्रेरणादायी विचार व्यक्त गर्नुभयो।उहाँले नारीहरू समाज रूपान्तरणका प्रमुख आधार भएको उल्लेख गर्दै आत्मविश्वास र आध्यात्मिक चेतनाको विकास आवश्यक रहेको औँल्याउनुभयो।
कार्यक्रममा नारी सशक्तिकरणलाई केन्द्रमा राख्दै भजन–कीर्तन, आध्यात्मिक प्रवचन तथा विविध सांस्कृतिक प्रस्तुतिहरू गरिएको थियो। सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा अनुशासित र सौहार्दपूर्ण वातावरण देखिएको थियो।
आयोजकका अनुसार समाजमा शान्ति, एकता र मानवता प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो। समागमले सहभागीहरूमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिइएको छ।
कार्यक्रममा बोल्दै संत निरंकारी मिशन नेपालका अध्यक्ष नर बहादुर रावलले सहभागी तथा सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका नारीहरूको सहभागिता रहेको थियो।
