कैलालीको जानकी गाउँपालिका–५ गुजरुवास्थित सातविघा नजिकैको कुलरिया नहरमा नुहाउने क्रममा शुक्रबार बिहान जुम्ल्याहा दिदीबहिनीसहित तीन बालिकाको मृत्यु भएको छ ।
मृतकका आफन्तका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. कि १५ की जुम्ल्याहा दिदीबहिनी निशा वजगाईं र मानुषी वजगाईं, साथै जानकी गाउँपालिका–५ गुजरुवाकी डम्मरा उपाध्यायको डुबेर मृत्यु भएको हो ।
निशा र मानुषी जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा–५ मा अध्ययनरत थिए भने डम्मरा सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा–४ मा अध्ययनरत थिइन्।
आफन्त कहाँ गएका बेला नुहाउने क्रममा उनीहरू नहरमा डुबेका थिए। घटनास्थलमा स्थानीय र प्रहरी टोलीले उद्धार कार्य गरे पनि तीनै बालिकालाई ज्यान बचाउन सकिएन।
मृतकहरूका शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।