बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १ ले (एसईई) मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कार्यालयले विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रम अन्तर्गत आइतबार वडा नम्बर १ मा संचालित सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
केही दिनअघि प्रकाशित एसईई नतिजामा ए प्लस ल्याउने विद्यार्थीलाई जनही ७ हजार र ए (ग्रेड) ल्याउनेलाई तीन हजार ५ सयका दरले छात्रवृत्ति हस्तान्तरण गरिएको जनाइएको छ । कार्यक्रममा पालिकाभरमै उत्कृष्ट नतिजा ल्याउन सफल संस्थागत स्कुल नोवेल माध्यमिक विद्यालयलाई कदरसहित सम्मान गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै सम्मान गरेका छ्न ।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थीहरुलाई बधाई दिदै बिद्यार्थीको मनोबल बढाउन अभिभावकको अहम भुमिकाहुने हुदा सबैले त्यस तर्फ ध्यान दिन आग्रह गरे ।
२०८१ को एसईई परीक्षामा वडा नम्बर १ मा रहेको वसन्त मुरारी नमुना माध्यमिक विद्यालयकी छात्रा निशा जैशीले ३.७५ जीपीए (ए प्लस) र बालकन्या माध्यमिक विद्यालयका छात्रा सुर्जन रोकायाले ३.६५ जीपीए (ए प्लस) ल्याएका थिए ।
वडा नम्बर १ मा बालकन्या र वसन्त मुरारी गरि दुई ओटा सामुदायिक विद्यालय संचालित छ्न । २०८१ को एसईई परीक्षामा बालकन्या मावी कट्टिपुरबाट सहभागी १ सय १ जनामा ५१ दशमलव ४९ प्रतिशत विद्यार्थी पास गर्दै सामुदायिक विद्यालयतर्फ पहिलो बन्न्न सफल भएको थियो । यसैगरी वसन्त मुरारीबाट सहभागी १ सय ८४ जना विद्यार्थीमा
विद्यालयले ३९ दशमलव ६७ प्रतिशत विद्यार्थी पास भएका थिए ।
वडा नम्बर १ मा दुई सामुदायिक र तीन संस्थागत गरि ५ वटा माध्यमिक विद्यालय संचालित छ्न । यद्यपि सामुदायिक भन्दा संस्थागत विद्यालयको नतिजा भने पालिकाभर अब्बल देखिएको छ ।
