२ जेठ/कैलालीको लम्कीचुहा नगरपालिकाले संस्कृति संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले भुवा पर्वलाई आवश्यक पर्ने ढाल र तलवार सामाजिक सशक्तीकरण तथा सांस्कृतिक बिकास मन्च लम्कीलाई हस्तान्तरण गरेको छ।
नगरपालिकाले सुदूरपश्चिमको मौलिक पर्व भुवा पर्व तथा तलवार नाचलाई आवश्यक पर्ने २० थान ढाल र तलवार एक कार्यक्रमका बिच नगर प्रमुख सुशीला शाही र प्रमुख प्रशासकीय अधिकृत सुश्मा महता केसीले मंचका संयोजक दीर्घ बहादुर बिस्ट लाइ हस्तान्तरण गर्नु भएको हो ।
उहाँले विशेषगरी सुदूरपश्चिममा खेलिने भुवा पर्व दोस्रो ठुलो पर्वको रुपमा मानिने गरिएकाले त्यसको संरक्षणमा सामुदायिक संस्थाहरूको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । “हामी अहिले पुरानो पुस्ताबाट सिकेको सीप र कला नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा लागेका छौं,” नगर प्रमुख शाहीले भन्नुभयो ।
अछामको रामारोशन क्षेत्रमा पुस १५ गते लाग्ने भुवा पर्वको अवसरमा डेउडा खेलको माध्यम अथवा नाचमा प्रदर्सन गरि कला सस्कृती अब लम्कीचुहाका १० वटै वडा का विभिन्न गाँउमा ढाल तलवार सहित भुवा पर्वको संरक्षण गर्ने संयोजक बिस्ट्ले बताए ।
संयोजक बिस्ट्ले नगरपालिकाले संस्कृति संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले मंचलाई भुवा पर्व लाई आवश्यक सामाग्री प्रदान गरेकोमा नगरपालिका लाई धन्यवाद व्यक्त गरेका छ्न।
के हो भुवा पर्व?
भुवा पर्व सुदूरपश्चिमको एक विशेष पर्व हो। यो सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा र अछामका विभिन्न गाउँबस्तीमा हिउँद सुरु भएसँगै भुवो पर्व मनाउने गरिन्छ । भुवा, भुवो वा भस्सो भनेर मनाइने भुवो पर्व दशैँ र तिहारपछिको रमाइलो (राम) पर्वका रूपमा लिने गरिन्छ ।
सुदूरपश्चिममा मात्र नभई कर्णाली प्रदेशमा पनि भुवा पर्व मनाइने गरिएको छ ।
प्रत्येक वर्ष पुसेऔँशीको अघिल्लो दिनदेखि सुरु हुने भुवा पर्वलाई त्यस भेगमा दशैँपछि को दोस्रो ठूलो पर्व मान्ने गरिएको छ । हिन्दु परम्परा अनुसार मौलिक लोकसंस्कृति, धार्मिक मूल्यमान्यता, वीरताको गाथा गाएर मनाइने भुवा पर्वको आफ्नै किसिमको महत्व रहेको छ ।
पहाडबाट बसाइँसराइ गरी तराईका कैलाली र कञ्चनपुरमा आएकाले पनि भुवा पर्व मनाउने गरेका छन् ।
भुवामा लोग्ने मान्छेहरू एक हातमा ढाल र अर्को हातमा तरबार बोकेर बाजागाजाका साथमा गोलाकारमा रहेर भस्सो खेल्ने गर्छन् ।महाभारत युद्धकालदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा यो पर्व आरम्भ भएको जनविश्वास रहिआएको छ ।
सत्ययुगमा पाण्डव र कौरवबीचको लडाइँमा सत्यमार्गमा हिँडेका पाण्डवले विजय हासिल गरेको अवसरमा भुवा पर्व खेलिएको किंवदन्ती छ ।