सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन् ।
शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए । उनी दृष्टिविहीन हुन् ।
कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।
विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे ।
ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ विभिन्न ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए ।