Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बझाङी सेवा समाज कैलालीद्वारा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम

  • कैलाली दर्पण
  • आइतवार, बैशाख ७, २०८२
बझाङी सेवा समाज कैलालीद्वारा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम

७बैशाख/बझाङी सेवा समाज कैलालीले नयाँ वर्ष २०८२ को अवसरमा  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

नयाँ वर्ष २०८२ साथै सुदूरपश्चिमको प्रशिद्ध चाड विसु पर्वको अवसरमा बझाङी सेवा समाज कैलालीले शनिवार अत्तरियामा  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको हो।

बझाङी सेवा समाज कैलालीका अध्यक्ष झलक अयडीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा शिक्षाप्रेमी शिक्षक वकिल बहादुर सिंहको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा बुङ्गल नगरपालिकाका नगरप्रमुखसहित विभिन्न क्षेत्रमा सक्रिय विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बझाङ जिल्लाको मूल घर भएका तर कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा बसोबास गर्दै आएका बझाङी समुदायका सदस्यहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो।

शुभकामना कार्यक्रमको क्रममा समाजले विगतमा सम्पन्न गरेका कार्यहरू र आगामी दिनहरूमा सञ्चालन गर्न लागिएका योजनाहरूको पनि सार्वजनिक प्रस्तुति गरिएको थियो। प्रमुख अतिथि सिंहले समाजले वर्तमान समयमा खेलेको भूमिकाको सराहना गर्दै भने, “हामीले पुर्ख्यौली थलोबाट टाढा आएर बसोबास गर्दा जुन सेवा र पहुँचको आवश्यकता महसुस भएको छ, समाजले त्यसलाई सम्बोधन गर्ने पहल गरेर महत्वपूर्ण योगदान दिएको बताए।”

उहाँले थप्नुभयो, “समाजले आवाजविहीनका आवाज उठाउँदै, एकताको भावना विकास गर्दै, जय पृथ्वी बहादुर सिंहको सोच र योगदानबाट प्रेरणा लिँदै, सामाजिक रूपान्तरणमा क्रियाशील रहनुपर्ने आवश्यकता समेत दर्शाएका थिए। ।”

कार्यक्रमका अन्य वक्ताहरूले पनि जय पृथ्वी बहादुर सिंहको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गरे। कार्यक्रमको विशेष आकर्षणको रूपमा विभिन्न राष्ट्रिय विभूतिहरूका फोटाहरू राखेर तिनीहरूलाई सम्मानजनक स्थान दिइएको थियो। यसमध्ये पृथ्वी बहादुर सिंहको फोटो राखेर कार्यक्रमको शुभारम्भ गरिनु एउटा नौलो पहलका रूपमा रहेको थियो।

समाजले विगतमा रक्तदान, राहत वितरण, सामाजिक सचेतना अभिवृद्धि लगायतका महत्वपूर्ण कार्यहरू गर्दै आएको उल्लेख गर्दै अध्यक्ष अयडीले आगामी दिनहरूमा अझ प्रभावकारी र समाजकेन्द्रीत कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गरे। “हाम्रो उद्देश्य समाजमा एकता, चेतना र सेवाभाव फैलाउनु हो। हामी आफ्नो गरिमा र पहिचान जोगाउँदै अगाडि बढ्नेछौं,” उहाँले उद्घोष गर्नुभयो।

कार्यक्रमका सहभागीहरूले पनि आ-आफ्नो शुभकामना मन्तव्य राख्दै बझाङी समुदायको एकता र सामाजिक सहभागिताको प्रशंसा गरे। कार्यक्रम सांस्कृतिक प्रस्तुति र पारस्परिक शुभकामना आदानप्रदानका साथ सफलतापूर्वक सम्पन्न भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट