१४ चैत/बर्दगोरिया गाउँपालिका भित्रका युवाहरूलाई स्वरोजगार तथा रोजगार बनाउन फ्रीज ,ए.सि मर्मत सम्बन्धि प्राविधिक तालिम सुरु गरिएको छ। समृद्ध नेपाल ट्रेनिङ सेन्टरको समन्वयमा तथा बर्दगोरिया गाउँपालिका न्यायिक समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो।
तालिमको उद्घाटन गर्दै उपाध्यक्ष गणेश राज गिरिले‘एक व्यक्ति एक सीप’ अवधारणाका साथ तालिमको आयोजना गरिएको बताए । ‘व्यावसायिक र व्यावहारिक शिक्षा आजको आवश्यकता हो,’ उपाध्यक्ष गिरिले भने, ‘सीपविना कुनै पेसा र व्यवसायमा लाग्नु अर्थपूर्ण छैन।’
पराम्परागत शैलीको पेसा–व्यवसायले काम गर्न र आर्थिक कमाउन धौ धौ भएकाले व्यावहारिक, व्यावसायिक सीप र ज्ञानका लागि तालिमको आयोजना गरिएको उनले बताए । तालिमले युवावर्गलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
उपाध्यक्ष गिरिले व्यावहारिकर प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोडदिए। ‘ज्ञान र सीपले मात्र पेसा र व्यवसाय चल्दैन। लगनशील, मिहिनेत र निरन्तरता जरुरी छ,’ उनले भने। युवा समृद्धिको संवाहक भएकाले युवालाई उत्पादनसँग जोड्ने कार्य तीनै तहको सरकारको रहेको उनको भनाइ छ। ‘युवाको क्षमता पहिचान गरी उत्पादनको क्षेत्रमा लगाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘युवाविना देशको समृद्धि सम्भव छैन।’ ३० दिने उक्त तालिममा ३० जना सहभागी छन् ।
