कैलाली दर्पण
ईन्द्रा के सी
१९ साउन सुखड कैलाली ।
कैलालीको घोडाघोडी नगपालिका स्थित सुखड बजारमा मंगलबार गुरही’ पर्वको रौनक निकै थियो । आफ्ना भेषभुषामा सजिएर थारु युवा युवतिहरु गुरही’ पर्व मनाउनका लागि जम्मा भएका थिए ।
गुरही पर्व थारु समुदायको पर्बको सुरुवातका रुपमा मनाइने पर्व हो । तर, मंगलबार थारु समुदायकी एक महिला त्यहि पर्व मनाउने स्थान नजिकै न्यायको याचना गरिरहेकी थिइन् ।
पीडित महिलाको बलात्कार पछि गर्भमा हुर्किँदै गएको ८ महिनाको शिशुलाई श्रीमानले मेरो बच्चा होइन भन्दै छोड्यो । बलात्कार गर्नेले तिरस्कार गर्न थाल्यो ।’अहिले उनको बिचल्लि भएको छ ।
रोजगारिको सिलसिलामा श्रिमान भारत गएका बेला कैलालीको घोडाघोडी नगरपालिका ११ कि २१ बर्षिया महिला बलात्कारको सिकार भइन् । ‘गाउँमै एक आफन्तको विवाहमा गएका बेला गत मंसिर १३ गते मध्यरातमा उनलाई २६ बर्षिय एक पुरुषले बलात्कार गरेको हो’ उनका आफन्तले भने ‘कसैलाई नभन्न धम्की दिएपछि घटना लुकेको रहेछ ।’
उनका आफन्तका अनुसार महिलाले आफू बलात्कारको सिकार भएको कुरा पनि लुकाएकी थिइन । श्रीमान् १० महिना पछि गएको असारमा भारतबाट घर फर्किदा श्रीमतीको कोखमा शिशु हुर्किरहेको थाहा पाए । आफ्नो श्रीमतीको कोखमा पर पुरुषको शिशु हुर्किरहेको थाहा पाएपछि श्रीमतीसँग बस्न नसक्ने कुरा सुनाउँछन् । यो बिषय इलाका प्रहरी कार्यालय सुखड सम्म पुग्छ । आफूले पनि बाल विवाह गरेका कारण श्रीमान् जाहेरी दिनबाट डराउँछन् र मौखिक रुपमा प्रहरीलाई खबर गर्दछन । प्रहरीले पनि उनले न्याय पाउने विषयमा ठोस कुरा बताउँदैन ।
महिलाले पनि प्रहरीसँग त्यो बेला सहमतिमा शारीरिक सम्पर्क भएको बताईन । बलात्कार गर्ने युवकले पनि उनको कोखमा हुर्किरहेको शिशु आफ्नो भएको भन्दै आफू त्यसको बाबु बन्न तयार रहेको कुरा सुनाउँछन् ।
उजुरी र जाहेरी दुबै नपरेपछि प्रहरीले पनि खासै चासो दिदैन ।
‘सुरुमा मेरो गल्ती भयो । यो बच्चा मेरो हो भन्दै श्रीमती बनाएर राख्छु भनेको थियो । अहिले घरको न घाटको बनाएको छ’ पीडित महिलालाई न्याय दिलाउने भन्दै आएका एक पुरुषले भने, ‘अहिले त त्यो बच्चा पनि मेरो होइन भन्दै महिलालाई यातना दिइरहेको रहेछ ।’
उनले बलात्कार गरेर श्रीमती बनाउँछु भनेर लगेको पुरुषले अहिले दैनिक रुपमा गर्भवती रहेकी महिलालाई जबरजस्ती मदिरा सेवन गर्न लगाउने र कुटपिट गर्ने गरेको बताए ।
अहिले पिडकले पनि मेरो बच्चा होईन अरू कसैको हो । त को– को सँग बसिस् भनेर हसियाले काट्ला जस्तो गरेको थियो ’ती पुरुषले भने । गर्भवती रहेकी पीडित महिलालाई परपुरुषको जिम्मा लगाउने सम्मको काम भएको उनले बताएका छन ।
‘यो मेरो बच्चा होइन भन्दै एक अर्काे व्यक्तिलाई जिम्मा लगाउन लागेको थाहा पाएपछि महिलाले माइतीलाई फोन गरेकी हुन उनले भने ‘अहिले घटना बाहिर आउँदा पनि न्याय नपाइने हो कि भन्ने चिन्ता छ । ’
पीडित पक्षले इलाका प्रहरी कार्यालय सुखडमा मंगलबार मुद्दा दर्ता गराउन खोजेका थिए । उनीहरुको मुद्दाको प्रकृति मिलेन भन्दै प्रहरीले त्यो दिन मुद्दा दर्ता गरेन । बुधबार फेरी जबरजस्ती करणीमा उनीहरुले दर्ता गराए ।
लामो समय पछि घटना बाहिर आएका कारण न्याय नपाउने हो कि भन्ने चिन्ता अहिले पीडित पक्षमा छ । यता प्रहरीले यथेस्ट प्रमाण नहुँदा मुद्दा कमजोर हुन सक्ने बताउँछ ।
‘त्यो बेला अहिले जसरी मुद्दा आएको भए उहाँले न्याय सहजै पाउनु हुन्थ्यो’ इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले भने, ‘पहिले सहमतिमा शारीरिक सम्पर्क भएको भन्दै उहाँहरू बाटो लाग्नु भयो अहिले फेरी बलात्कार भएको भन्दै आउनु भएको छ ।’
प्रहरीले असारमा पीडितका श्रीमान्ले समस्या लिएर आएको बेला मुद्दा अगाडी बढाइदिएको भए पीडितलाई न्याय पाउन सकस नहुने आफन्तहरुको भनाई छ । तर, प्रहरी सम्म पुगेको घटना बलात्कार गरेकै व्यक्तिले श्रीमती बनाएर राख्नु भन्दा उन्मुक्ति पाइपछि अहिले प्रहरीले पनि प्रभावकारी अनुसन्धान नगरेको आरोप लाग्न थालेको छ ।
अहिले बलात्कार गरेर हुर्किरहेको शिशु आफ्नो होइन भन्न थालेपछि समस्या सृजना भएको हो । दिन प्रतिदिन घटना जटिल बन्दै गइरहेको प्रहरीको ठहर छ यता दिन प्रतिदिन गर्भमा हुर्किरहेको शिशुका कारण उनकी आमा न्यायको याचना गरिरहेकी छन् ।