Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

नाउपाले साधारण सदस्यसमेत नरहने गरी रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो

  • कैलाली दर्पण
  • बुधबार, साउन १४, २०८२
नाउपाले साधारण सदस्यसमेत नरहने गरी रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ ।

नाउपाको राष्ट्रिय भेलाले अध्यक्ष चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको हो । त्यसअघि मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर बुधबार काठमाडौंमा आयोजित भेलाले अध्यक्ष श्रेष्ठ चौधरीलाई हटाउने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य बलवीर चौधरीले बताए ।

पार्टी नेताहरुका अनुसार तीन सदस्यीय अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक, पुन्नबहादुर बुढा र सुनिता चौधरी सदस्य छन् । सुनिता चौधरी भने आर्थिक अनियमितताको अभियोगमा हाल कञ्चनपुरमा थुनामा छिन् ।

अध्यक्षसहित २१ जना केन्द्रीय सदस्य रहेको नाउपामा बुधबार आयोजित राष्ट्रिय भेलामा १२ जनाको उपस्थिति थियो । यस्तै भेलाका प्रतिनिधिहरुमा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बोलाइएको थियो । भेलाले अध्यक्ष श्रेष्ठ चौधरीमाथि पाँच वटा कारण देखाएर कारबाही गरेको सहभागी नेताहरुले बताएका छन् । बैठक नबोलाएको, स्पष्टीकरण नबुझाएको, कार्यवाहक तोकेको, पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरणमा मुछिएको र पार्टीको विधिविधान मिचेको आरोप लगाइएको छ ।

नाउपाको अन्तरिम विधान २०७८ को दफा १३ मा राष्ट्रिय भेला सम्बन्धी व्यवस्था छ । तर राष्ट्रिय भेलाका प्रतिनिधिबारे भने उल्लेख छैन । केन्द्रीय कमिटीले राष्ट्रिय भेला बोलाउन सक्ने व्यवस्था छ । १३ (क) मा केन्द्रीय कमिटीले आवश्यक ठानेमा राष्ट्रिय भेला आयोजना गर्ने छ भनिएको छ भने १३ (ख) मा राष्ट्रिय भेलाले विधान, केन्द्रीय कमिटी, सचिवालयका सदस्य र पदाधिकारीहरुको चयन एवं हेरफेर र महाधिवेशनप्रति उत्तरदायी रहने गरी विधान हेरफेर गर्न सक्ने छ भनिएको छ ।

यसअघि आइतबार १३ जना संस्थापक केन्द्रीय सदस्य उपस्थित बहुमतको बैठकले अध्यक्ष श्रेष्ठ चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष श्रेष्ठ चौधरीले स्पष्टीकरण भने बुझाइनन् । त्यसअघि केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरुले ९ गते शुक्रबार २४ घण्टे ‘अल्टिमेटम’ दिएका थिए । तर अध्यक्ष श्रेष्ठ चौधरीले भने सुनुवाई गरेकी थिइनन् ।

शनिबार अध्यक्ष श्रेष्ठ चौधरीले संस्थापक केन्द्रिय सदस्य नरहेका वरिष्ठ नेता शिव बास्तोलालाई अन्तरिम विधान २०७८ को धारा २० (९) बमोजिम कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । धारा १९ मा अध्यक्षको अधिकार र कर्तव्यसम्बन्धी व्यवस्थाको (६) मा अध्यक्षले ‘आफूमा निहित अधिकार अन्य पदाधिकारीलाई प्रत्यायोजन गर्ने’ भनिएको छ । बास्तोलालाई कार्यबाहक अध्यक्ष तोकिएपछि विवाद झन् चुलिएको थियो ।

अध्यक्षका विपक्षीहरुले संस्थापक केन्द्रीय सदस्य नै नरहेको व्यक्तिलाई केन्द्रीय सदस्य बनाउन नमिल्ने उनीहरुको जिकिर थियो । संरक्षक रेशम चौधरीले पनि कार्यवाहक तोकिएकोप्रति आपत्ति जनाउँदै गलत गरेको बताएका थिए ।

यता रञ्जिता पक्षधर संस्थापक केन्द्रीय सदस्य कोमल ज्ञवालीले भने यसरी अध्यक्षलाई हटाउन नमिल्ने बताएकी छिन् । उनले भनिन्, ‘म त भेलामा सहभागी छैन । मेरो विचारमा मुद्दामामिला हुन्छ होला र यो निर्णय अवैध ठहरिन्छ होला भन्ने लाग्छ ।’

कार्यवाहक मनोनीत शिव बाँस्तोलाले पनि भेला र भेलाको निर्णय अर्थहीन हुने दाबी गरे । ‘उहाँहरुले बैठक बोलाएकै विधानविपरीत छ । संसदीय दलले बैठक बोलाउनै मिल्दैन । त्यसैमा राष्ट्रिय भेलाका सहभागी प्रतिनिधिबारे पनि अन्योल छ,’ बाँस्तोलाले भने ।

पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिना प्रपञ्चमा मुछिएकी अध्यक्ष चौधरीले शनिबार शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । कार्यवाहकको जिम्मेवारी बाँस्तोलालाई दिइएपछि पार्टीको आन्तरिक विवाद झनै चुलिएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट