बौनिया २१ भदौ
बिगत ७ बर्ष अघि कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको टीकापुर हत्याकाण्डका मुख्य दोषी ठहर भई जेलमा रहेका कैलाली क्षेत्र नं.–१ का निलम्बित साँसद रेशम चौधरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नं.–२ बाट उम्मेदवारमा सिफारिश भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिश गरेको उक्त पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले जानकारी दिएका छन् ।
२०७४ को आम निर्वाचनमा रेशम कैलाली क्षेत्र नं.–१ बाट तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट ३४ हजार ३ शय ४१ मत ल्याइ विजयी भएका थिए ।
पार्टी एकीकरणसँगै रेशम पछिल्लो पटक जनता समाजवादी पार्टीको निलम्बित साँसदको हैसियतमा छन् । यद्दपि आगामी निर्वाचनमा भने उनी नागरिक उन्मुक्ति पार्टीबाट सिफारिश भएका हुन् ।
२०७२ भदौ ७ मा भएको टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको छ । चौधरी अहिले डिल्लीबजार स्थित कारागारमा छन् ।
यता रेशम निर्वाचित कैलाली क्षेत्र नं.–१ बाट रेशम पत्नी एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चुनावी मैदानमा उत्रिने यस अघि नै घोषणा गरेकि छन् ।