Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

चिसापानी–सोल्टा–मंगलसेन सडक खण्डमा रुख कटानको सहमति, निर्माण कार्य तत्काल अगाडि बढ्ने

  • कैलाली दर्पण
  • मङ्लबार, बैशाख २, २०८२
चिसापानी–सोल्टा–मंगलसेन सडक खण्डमा रुख कटानको सहमति, निर्माण कार्य तत्काल अगाडि बढ्ने

कैलाली – लामो समयदेखि अवरुद्ध भएको चिसापानी–सोल्टा–मंगलसेन सडक खण्डको निर्माण कार्य अब तत्काल अगाडि बढ्ने पक्का भएको छ। लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ सम्मको राष्ट्रिय वन क्षेत्रमा पर्ने ४७२ वटा रुख कटान गर्न मंगलबार द्विपक्षीय सहमति भएको हो।

उक्त सहमति संघीय वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भू–संरक्षण विभाग र सडक विभागको भू–वातावरण तथा सामाजिक शाखा बीचमा भएको हो। सहमतिपत्र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई आजै हस्तान्तरण गरिएको छ।

सम्बन्धित क्षेत्रमा निर्माण रोकिँदै आएको विषयमा स्थानीय चासो र आन्दोलन तीव्र बन्दै गएको थियो। युवा अभियन्ता नेत्र भण्डारीले कर्णाली चिसापानी पुलमा आमरण अनशन सुरु गरेका थिए, जसलाई मुख्यमन्त्रीको प्रत्यक्ष हस्तक्षेप र आश्वासन पछि हिजो अन्त्य गरिएको हो।

अब यो सडकले कैलालीको सुदूरपूर्वी क्षेत्र हुँदै अछामको सदरमुकाम मंगलसेन जोड्ने महत्वपूर्ण भूमिका खेल्नेछ। सडक निर्माणले यातायात सञ्जाल, आपूर्ति प्रणाली, तथा स्थानीय आर्थिक गतिविधिमा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ।

सडक पूर्वाधार विकासमा देखिएको सरकारी प्रतिबद्धता, युवा दबाब र जनसहभागिताप्रति स्थानीयबासी, जनप्रतिनिधि र अभियन्ताहरूले आभार तथा सम्मान व्यक्त गरेका छन्।

उक्त सडक निर्माण कार्यका लागि निबर्तमान माननीय झपट बहादुर रावल पनि निरन्तर लाग्नु भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट