Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया धाममा पुष२७ गतेदेखि माघी मेला लाग्ने

  • कैलाली दर्पण
  • सोमवार, पुस ९, २०८०
बर्दगोरिया धाममा पुष२७ गतेदेखि माघी मेला लाग्ने

९ पुस/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघी मेलाको आयोजना गरिएको छ । बर्दगोरिया धार्मिक संरक्षण मंचको आयोजनामा यहि पुष २७ गतेदेखि माघ २ गते सम्म मेला संचालन हुने भएको हो ।

माघी पर्वको असवर पारी आयोजना गरिएको मेलाका बारेमा सोमबार आयोजकले यहाँका सरोकारवाला निकायसित छलफल समेत गरेको छ ।


विगत २१ सय वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन,रामलीला र भारतको चर्चित नौटंकीको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न माघि मेलाको आयोजना गरिएको मेला आयोजक मुल समिति संयोजक तथा बर्दगोरिया धार्मिक संरक्षण मंचका अध्यक्ष जगराम चौधरीले बताए ।

बर्दगोरिया धाममा माघीमा परापुर्बकाल देखिनै ठुलो मेला लाग्ने गरेको छ । उनले भने , ‘विशेष त थारु जातिले नयाँ बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया,शिंघाई बाट भक्तजन तथा पर्यटक अवोलकनका लागी आउने गरेका छन ।’ माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरीया धार्मिक क्षेत्रमा रहेको ताल,पोखरीमा नुहाउने गर्दछ्न ।“बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नामाङ्कन गरिएको हो ।

बर्दगोरिया गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक स्थलको मेलाको माध्यमबाट प्रचार प्रसार गर्ने मेलाका प्रचारप्रसार तथा मिडिया संयोजक कृष्ण प्रसाद ओझाले बताए । उनले भने परापूर्व कालदेखिको पौराणीक महत्व बोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिब मन्दिर, कुवा,तथा पिरुवा,पुरैना ताल,राम जानकी मन्दिर ,झरझरिया पिकनिक स्थल,ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचारप्रसार गरिने जानकारी दिए ।

मेलामा थारु समुदायका परिकार र कला संस्कृती र मौखिकता झल्काउने भेषभुषा र पंचे बाजासहितको ,झाकिहरु प्रदर्शन गरिने जनाइएको छ ।बर्दगोरियामा हरेक वर्ष माघीका अवसरमा विभिन्न ठाउँबाट मेला भर्न तथा स्नान गर्न भक्तजन आउने गर्दछन् । यो दिन बर्दगोरियामा नुहाएर पूजा गर्नाले वर्षभरीको पाप काटिन्छ भन्ने जनविश्वास रही आएको छ ।माघी मेलालाई सफल बनाउनका लागि आफुले सबै सहयोग गर्ने बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विकले बताए ।

बर्दगोरियामा माघमा लाग्ने माघी मेलाबाहेक कात्तिक, मङ्सिरमा लवाङ्गी पूजा, केदार पूजा, दसैँमा गङ्गा दशहरा, दीपावलीमा लक्ष्मी पूजा र भदौमा बोलबम कलश यात्रा हुने गरेको छ ।
करिब १८ हेक्टर क्षेत्रफल ओगटेको बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी नामका मुख्य मन्दिरका साथै दुई वटा शिवालय अग्नीकुण्ड तथा भक्तजनहरूलाई नुहाउनका लागि दुई वटा पोखरी रहेका छन् र अहिले फेरि बन्ने तयारीमा रहेका छन् ।

बर्दगोरिया परिसरभित्र देवीदेउताले पानी पिउन प्रयोग गर्ने कुवा समेत रहेको विश्वास गरिन्छ । यो ठाउँमा पुरानो राजाको दरबार रहेको समेत अनुमान गरिएको छ । पुरानो राजाको दरबार रहेको र पछि राजाले सो दरबार छोडेर गएपछि दरबार भत्कीएर रहेका ईटाहरूबाट अहिलेका मन्दिरहरू निर्माण गरिएको हुन सक्ने अनुमान गरिए तापनि यो एकिन हुन नसकेको अधिकांश भक्तजनहरु बताउँछन् ।

मेला सफल पार्न सोमबार विभिन्न उप–समितिहरु पनि गठन गरिएको छ । मेलाको आर्थिक संयोजकमा देवराज स्वार, मञ्च तथा कलाकार संयोजकमा विर चौधरी, स्टल व्यवस्थापन समिति संयोजकमा राजेन्द्र बम, अतिथि सत्कार संयोजकमा चन्द्रा बम,प्रचारप्रसार संयोजकमा कृष्ण प्रसाद ओझा,सुरक्षा तथा स्वयमसेवक व्यवस्थापन समिति संयोजकमा टेकराज जोशी, भान्सा व्यवस्थापक संयोजकमा जागेश्वर चौधरी, सरसफाई तथा रंगरोगन समिति संयोजकमा चुल्लुराम चौधरी लगाएतका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट