बौनिया / स्थानीय तहको निर्वाचनका लागि कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । यही वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कार्यालय स्थापना गरिएको हो ।
बिहिवार बिहान निर्वाचन अधिकृत बद्री बहादुर पाठकले कार्यालय उद्घाटन गरेका हुन । पाठक शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हुन । गाउँपालिकाको न्यायिक समितिको भवनमा उक्त कार्यालय स्थापना गरिएको हो । कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु, उपाध्यक्ष भगवती देवि डगौरा, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की, यहाँका अन्य जनप्रतिनिधि ,स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवाला निकायको उपस्थिति थियो ।
कार्यालयको उद्घाटन गर्दै निर्वाचन अधिकृत पाठकले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने कुरामा सबैको सहयोग आवश्यक भएको बताए । उनले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको मुख्य भूमिका रहने भएकोले निर्वाचनका लागि आचरसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरे ।