लिलाराज शाही/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन्।
मंगलबार शाहीले सुदूरपश्चिम भूगोलअन्तर्गत महिला कोटाबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी हुन्।
शाही कैलाली क्षेत्र नं.- २ बाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
सानै उमेरदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय शाही २०६० सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएकी थिइन्। २०६८ सालमा नेपाल महिला संघमा आबद्ध भएकी उनले २०७० सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेकी हुन्। १४औँ महाधिवेशनमा समेत उनी क्षेत्रीय प्रतिनिधि बनेकी थिइन्।
शाहीले लम्की लेडी जेसीजको संस्थापक अध्यक्ष, सन् २०१६ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, लम्कीचुहा उद्योग वाणिज्य संघको अध्यक्ष तथा लायन्स क्लब लम्कीको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्।
हाल लम्कीचुहा नगरपालिकाको नगर प्रमुख रहेकी शाही राष्ट्रिय विकास परिषद्को केन्द्रीय सदस्य तथा नेपाल नगरपालिका संघको केन्द्रीय सदस्य र महिला विभाग प्रमुखसमेत रहेको बताएकी छन। २०७४ सालको प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ (क) बाट समानुपातिक उम्मेदवार बनेकी शाही २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित भएकी हुन्।
नगर प्रमुखका रूपमा उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताएकि छ्न।
२०४३ सालमा जन्मिएकी शाहीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
शाहीले आफू लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहेकाले महिला प्रतिनिधित्वलाई प्रभावकारी रूपमा अघि बढाउन सक्ने बताएकी छन्। समाज परिवर्तन व्यक्तिको परिवर्तनबाट सम्भव हुने धारणा राख्दै उनले राजनीतिक उत्तेजनाभन्दा चेतना र सकारात्मक सोचमार्फत परिवर्तन आवश्यक रहेको बताइन्।
अशोज २२ गते हुने महाधिवेशन निर्वाचनमा सुदूरपश्चिम भूगोलतर्फ महिला केन्द्रीय सदस्यमा आफूलाई निर्वाचित गराउन शाहीले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु लाई अपिल गरेकी छन्।
मतदान दिउँसो १ बजेदेखि हुने भएको छ।