असोज १८ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ। असोज १८ गतेदेखि २२ गतेसम्म चल्ने महाधिवेशनको दिउँसो २ बजे उद्घाटन हुने छ।
महाधिवेशनमा करिब ७ हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।
कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा प्रतिनिधि सहभागी हुन लागेको बताइएको छ।
तालिकाअनुसार आज उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नेछन्।
बन्दसत्रका लागि खुलामञ्चमै हिमाल, पहाड र तराई–मधेस नामका तीन ठूला संरचना तयार गरिएको छ। प्रतिनिधिहरूलाई भूगोलका आधारमा विभाजन गरी प्रतिवेदनमाथि छलफल गराइनेछ।
यसपटक कांग्रेसको महाधिवेशनमा युवा, महिला, विभिन्न समुदाय तथा नयाँ क्षेत्रबाट नेतृत्वमा प्रवेशलाई विशेष प्राथमिकता दिइएको छ।
३५ वर्षमुनिका युवाको नेतृत्वमा सुनिश्चित प्रतिनिधित्व तथा विभिन्न पेसा र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई ‘ल्याटरल इन्ट्री’मार्फत केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्था गरिएको छ।
महाधिवेशनका क्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ।
प्राकृतिक विपद्पछिको अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले यसपटक महाधिवेशनमा तडकभडकपूर्ण प्रचार नगर्ने नीति लिएको छ। फ्लेक्स, ब्यानर, पोस्टर तथा पम्प्लेटलगायतका भौतिक प्रचार सामग्रीमा प्रतिबन्ध लगाइएको छ।
महाधिवेशनस्थलमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क, एम्बुलेन्स तथा प्रतिनिधिका लागि आवास, भोजन र पार्किङको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै कांग्रेसको आगामी राजनीतिक दिशा, संगठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे समेत महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।