Kailali Darpan बुधबार, कार्तिक १२, २०८३
  • Trending :

लम्कीमा मंसिर १० गतेदेखि लम्की महोत्सव–२०८३ हुने

  • कैलाली दर्पण
  • मङ्लबार, अशोज १३, २०८३
लम्कीमा मंसिर १० गतेदेखि लम्की महोत्सव–२०८३ हुने
oplus_1024

१३ असोज/”समुन्नत लम्कीचुहाको आधार–शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ लम्की महोत्सव–२०८३ आयोजना हुने भएको छ। लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर १० गतेदेखि २१ गतेसम्म लम्कीमा महोत्सव सञ्चालन हुने भएको हो।

महोत्सव आयोजनाबारे लम्कीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै संघका अध्यक्ष दीपककुमार तिमिल्सैनाले महोत्सवलाई लम्कीचुहाको आर्थिक, सामाजिक तथा पर्यटकीय विकाससँग जोडेर अघि बढाइने बताउनुभयो।

महोत्सवमार्फत स्थानीय उद्योग, व्यापार तथा कृषि उत्पादनको प्रवर्द्धनसँगै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, व्यवसायीबीच सहकार्य र व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा उपभोक्तालाई स्थानीय वस्तु तथा सेवाबारे जानकारी गराउने उद्देश्य रहेको संघले जनाएको छ।

त्यस्तै, लम्कीचुहा र आसपासका क्षेत्रको पर्यटन सम्भावनाको प्रचार–प्रसार तथा स्थानीय पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धनमा समेत महोत्सवलाई उपयोग गरिने जनाइएको छ। लम्कीचुहाको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनलाई आर्थिक गतिविधिसँग जोड्दै स्थानीय स्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यसमेत रहेको आयोजकले जनाएको छ।

महोत्सवमा शिक्षालाई समेत प्राथमिकतामा राखिनेछ। स्थानीय शैक्षिक अवस्था, सीप तथा व्यावसायिक शिक्षाको महत्व र विद्यार्थी तथा युवालाई उद्यमशीलतासँग जोड्ने विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्यक्रम समेटिने बताइएको छ।

यसैगरी कृषि, उद्योग र व्यापारलाई एउटै मञ्चमा जोड्दै किसानका उत्पादनको बजार विस्तार, स्थानीय उद्यमीलाई प्रोत्साहन, नयाँ व्यवसाय तथा उत्पादनको प्रचार र उपभोक्ता–व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने वातावरण बनाउने प्रयास गरिने जनाएको छ।

संघका महासचिव पुष्पराज ढकालले लम्कीचुहाको समग्र विकासका लागि आयोजना गर्न लागिएको महोत्सव सफल बनाउन व्यवसायी, उद्योगी, कृषक तथा सम्पूर्ण सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो।

संघका उपाध्यक्ष मनिष न्यौपानेले विगतका वर्षमा झैँ यस वर्ष पनि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिँदै यसपटक केही नयाँपन र रचनात्मक कार्यक्रम समेट्ने तयारी भइरहेको बताउनुभयो। महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो।

महोत्सवमा स्थानीय कलाकार तथा प्रतिभालाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ। स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति, परम्परागत कला तथा मौलिक सिर्जनालाई महोत्सवमा विशेष स्थान दिइनेछ।

महोत्सवले लम्कीचुहाको स्थानीय अर्थतन्त्र चलायमान बनाउन, व्यवसायी तथा उद्यमीलाई प्रोत्साहित गर्न तथा ‘स्थानीय उत्पादन, स्थानीय बजार र स्थानीय पर्यटन’ प्रवर्द्धन गर्न महत्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट