बौनिया/ विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका युवा नेता खगेन्द्र विष्टले कैलाली क्षेत्र नम्बर–३ बाट १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।
घोडाघोडी नगरपालिका–२ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका विष्टले खुला युवातर्फ महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
नेपाली कांग्रेस नयाँ चुनौती र बदलिँदो राजनीतिक परिस्थितिबीच अघि बढिरहेको उल्लेख गर्दै विष्टले पार्टीलाई थप गतिशील बनाउन युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताए। पार्टीभित्र युवाको सहभागिता बढाउँदै नयाँ पुस्तालाई नेतृत्व र निर्णय प्रक्रियामा स्थापित गर्न आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका विष्ट लामो समयदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मा सक्रिय रहँदै आएका छन्। विद्यार्थी संगठन निर्माणसँगै विद्यार्थीका हकहित तथा शैक्षिक मुद्दामा समेत आफूले निरन्तर काम गर्दै आएको उनले बताए।
विष्टले नेविसंघको इकाई सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए। उक्त जिम्मेवारीमा रहँदा विद्यार्थीका हकहित, शैक्षिक मुद्दा तथा संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको उनको भनाइ छ।
त्यस्तै, उनी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्यका रूपमा समेत निर्वाचित भएका थिए। स्ववियुमा रहँदा विद्यार्थीका साझा सवाल, शैक्षिक सुधार तथा हकहितका विषयमा काम गरेको विष्टले बताएका छन्।
नेपाली कांग्रेसको आम निर्वाचन प्रचार–प्रसारमा समेत विष्टले भूमिका निर्वाह गरेका थिए। नेविसंघको तर्फबाट संघीय निर्वाचन प्रचार–प्रसार सचिवालय सदस्यको जिम्मेवारी सम्हाल्दै निर्वाचन प्रचार–प्रसार तथा रणनीतिक योजनामा सक्रिय रहेको उनले बताए।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउन तथा विद्यार्थी र युवाका मुद्दालाई पार्टीको मूलधारमा प्रभावकारी रूपमा उठाउने उद्देश्यले आफूले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको विष्टले बताएका छन्।
असोज १२ गते हुनलागेको क्षेत्रिय अधिवेशनमा युवा तर्फ महाधिवेशन प्रतिनिधिमा आफूलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, वडा सभापति, पालिका सभापति, अग्रज तथा युवाहरूलाई अपिल गरेका छन्।
