कैलालीको टीकापुरमा हुक्का खान बसेका घोडाघोडीका एक युवकमाथि खुँडा प्रहार भएको छ।
टीकापुर नगरपालिका–७ बेलुवास्थित ट्री हाउस होटलमा सोमबार साँझ हुक्का खान बसेका घोडाघोडी नगरपालिका–९ फारमका १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो।
प्रहरीका अनुसार साँझ करिब ६ बजे नम्बर नखुलेका तीनवटा मोटरसाइकलमा आएका लम्कीचुहा नगरपालिका–१ बसपार्कका ध्रुव विष्टसहित ८/९ जनाको समूहले साउदमाथि अचानक खुँडा प्रहार गरेको थियो।
खुँडा प्रहारबाट साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनलाई तत्काल टीकापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारपछि साँझ ७ः४० बजे थप उपचारका लागि नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते साउदको अवस्था मध्यम रहेको छ। आक्रमणमा संलग्न समूह घटनापछि फरार भएको छ।
आक्रमणको कारण भने खुल्न सकेको छैन। घटनाबारे इलाका प्रहरी कार्यालय टीकापुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।