Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बालकन्या माविको सामाजिक लेखापरीक्षण सम्पन्न, सहयोगीदाता उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

  • कैलाली दर्पण
  • बुधबार, भदौ ३१, २०८३
बालकन्या माविको सामाजिक लेखापरीक्षण सम्पन्न, सहयोगीदाता उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित
oplus_140509186

कैलालीको बर्दगोरियामा रहेको बालकन्या माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ। विद्यालयले बुधबार एक कार्यक्रमबीच सामाजिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो।

शिक्षक–अभिभावक संघका अध्यक्ष भक्तबहादुर बिठारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, कार्यपालिका सदस्यहरू मीरा आले, सरस्वती विकलगायतको सहभागिता रहेको थियो।

विद्यालयका प्रधानाध्यापक लालबहादुर गडशिलाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा विद्यालयले कुल १ करोड २७ लाख ७८ हजार ८ सय ५१ रुपैयाँको कारोबार गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ बाट २ लाख ७७ हजार ४ सय १९ रुपैयाँ अल्या रहेको थियो भने तलब भत्ताका लागि ८६ लाख २४ हजार २ सय ३७ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, निःशुल्क पाठ्यपुस्तकका लागि ५ लाख ८१ हजार ८ सय ६ रुपैयाँ, सेनेटरी प्याड व्यवस्थापनका लागि ३ लाख ४७ हजार १ सय ६७ रुपैयाँ, कक्षा ११ र १२ का लागि अभिभावक सहयोगबापत ११ लाख २१ हजार ६ सय रुपैयाँ, विद्यालय सञ्चालन अनुदान २ लाख ५० हजार रुपैयाँ तथा दिवाखाजातर्फ ९ लाख ७२ हजार ९ सय ८० रुपैयाँ आम्दानी भएको छ। विविध शीर्षकबाट ६ लाख ३ हजार ६ सय ४१ रुपैयाँ प्राप्त भएको विद्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा विद्यालयले प्राप्त गरेको आम्दानीमध्ये १ करोड २२ लाख ५९ हजार ८ सय ३४ रुपैयाँ खर्च गरेको छ भने ४ लाख ४४ हजार १७ रुपैयाँ मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ।

सहयोगीदाता, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

विद्यालयले सामाजिक लेखापरीक्षण कार्यक्रमकै अवसरमा सहयोगीदाता, उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान गरेको छ।

विद्यालयमा हाल तीन वटा शैक्षिक कोष सञ्चालनमा रहेका छन्। विद्यालय शैक्षिक कल्याण कोषमा करिब ३ लाख रुपैयाँ, टंकेश्वरी शैक्षिक कल्याण कोषमा १ लाख २० हजार रुपैयाँ र वडा अध्यक्ष शैक्षिक कल्याण कोषमा १ लाख रुपैयाँ जम्मा भएको विद्यालयले जनाएको छ। कार्यक्रममा ती कोषमा सहयोग गर्ने सहयोगीदाताहरूलाई सम्मान गरिएको हो।

यस्तै एसईईतर्फ उत्कृष्ट नतिजा ल्याउने युद्ध शर्मा रिमाल र लक्ष्मीप्रसाद अधिकारीलाई सम्मान गरिएको छ। कक्षा १२ तर्फ उत्कृष्ट नतिजा ल्याउने लक्ष्मी खतिवडा र सुमन कठायत पनि सम्मानित भएका छन्।

विद्यालयले प्लस टुतर्फ उत्कृष्ट नतिजा हासिल गर्न योगदान पुर्‍याएको भन्दै उक्त तहका सम्पूर्ण शिक्षकलाई समेत सम्मान गरेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट