लम्कीचुहा, भदौ ८ — लम्कीचुहा नगरपालिकाको शिक्षा शाखाले विद्यालयको शैक्षिक गुणस्तर सुधार, डिजिटल शिक्षण र दिवाखाजा व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्यालयहरूको संयुक्त शैक्षिक अनुगमन गरेको छ।
सोमबार नगरपालिका वडा नं. १ अन्तर्गतका ६ वटा आधारभूत तथा माध्यमिक विद्यालयसहित वडा नं. ५ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय र वडा नं. २ स्थित जनचेतना प्राथमिक विद्यालयको अनुगमन गरिएको हो। शिक्षा शाखा प्रमुख पंखबहादुर शाहको नेतृत्वमा गएको टोलीले विद्यालयहरूको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा विद्यालयहरूमा शिक्षण–सिकाइ क्रियाकलाप नियमित रूपमा सञ्चालन भइरहेको पाइएको शिक्षा शाखाले जनाएको छ। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयहरूलाई आवश्यक सुझाव तथा निर्देशनसमेत दिइएको छ।
यसैगरी अनुगमनका क्रममा विज्ञान प्रयोगशाला तथा ICT प्रयोग नगर्ने विद्यालयमा हप्तामा कम्तीमा तीन दिन तीन पिरियड कम्प्युटर अभ्यास कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ। त्यस्तै, दिवाखाजाको रकम नगद वितरण नगरी विद्यालयमै अनिवार्य रूपमा दिवाखाजा खुवाउने व्यवस्था गर्न निर्देशन दिइएको छ।
स्मार्ट बोर्ड भएका विद्यालयमा कम्तीमा एउटा कक्षालाई पूर्ण डिजिटल प्रविधिमार्फत सञ्चालन गर्नसमेत निर्देशन दिइएको छ। त्यसका लागि नगरपालिकाले शिक्षकहरूको क्षमता विकास तालिम सञ्चालन गर्ने शिक्षा शाखा प्रमुख शाहले जानकारी दिनुभयो।
शिक्षा शाखा प्रमुख शाहले ‘हाम्रो विद्यालय, हामी बनाउँछौँ’ भन्ने मूल नारासहित शिक्षक तथा कर्मचारीलाई आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दै शैक्षिक सुधारमा सक्रिय हुन आग्रह गर्नुभएको छ।
उहाँका अनुसार नगरपालिकाले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रविधिमैत्री शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने योजना अघि बढाएको छ।