कैलाली, बर्दगोरिया /”न्यायिक पहिचान, व्यवस्थित पुनःस्थापना, सम्मानित जीवन” भन्ने मूल नाराका साथ बर्दगोरिया गाउँपालिका स्तरीय २६ औँ कमैया मुक्ति दिवस शनिबार बर्दगोरिया गाउँपालिका–४, नौनियामा सम्पन्न भएको छ ।
स्थानिय बुधनी चौधरिको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले मुक्त कमैया समुदायको अधिकार संरक्षण, सामाजिक न्याय, सम्मानजनक जीवनयापन तथा आर्थिक सशक्तीकरणका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो ।
साथै अध्यक्ष कुँवरले मुक्त कमैया समुदायको शिक्षाका लागि पालिकाले डाक्टर पढाइ सम्म निशुल्क गरेको बताउदै, स्वास्थ्य, रोजगारी तथा आयआर्जनका क्षेत्रमा कार्य सञ्चालन गर्दै जीवनस्तर सुधार गर्न स्थानीय सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु हयो ।
कार्यक्रममा वक्ताहरूले कमैया मुक्तिको आन्दोलनले नेपाली समाजमा ऐतिहासिक परिवर्तन ल्याएको उल्लेख गर्दै अझै पनि पुनःस्थापना, रोजगारी, आवास, शिक्षा र जीविकोपार्जनका क्षेत्रमा रहेका चुनौती समाधान गर्न राज्यका सबै तहले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
कार्यक्रममा डाक्टर राम बहादुर चौधरी , नेकपा एमालेका बर्दगोरिया अध्यक्ष मधुकर सिजापती मगर, एमालेका नेता बिष्णु चौधरी, विभिन्न टोल तथा गाउँका भलमन्सा मुक्त कमैया समुदायका अगुवा लगाएत स्थानीयको सहभागिता रहेको थियो ।
कार्यक्रमले मुक्त कमैया समुदायको अधिकार सुनिश्चित गर्दै न्यायपूर्ण, सम्मानित र आत्मनिर्भर जीवन निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ ।
साथै मुक्त कमैया शिबिरमा अक्षयकोष स्थापना गरिएको छ । जसमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले व्यक्तिगत ५१ हजार नगद सहयोग गर्नुभएको छ । यसै गरि नेकपा एमाले बर्दगोरिया गाउँकमिटी अध्यक्ष मधुकर सिजापती मगरले ५ हजार १ सय अक्षयकोष स्थापनाका लागि सहयोग गर्नु भएको छ । कार्यक्रमको संचालन बृजलाल चौधरीले गर्नु भएको थियो ।