Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रथम जोशीपुर कृषि तथा व्यापारिक सांस्कृतिक सन्ध्याकालीन मेला सुरु

  • कैलाली दर्पण
  • सोमवार, असार २२, २०८३
प्रथम जोशीपुर कृषि तथा व्यापारिक सांस्कृतिक सन्ध्याकालीन मेला सुरु

कैलालीको जोशीपुर गाउँपालिकामा प्रथम जोशीपुर कृषि, व्यापारिक तथा सांस्कृतिक सन्ध्याकालीन मेला–२०८३ भव्य रूपमा सुरु भएको छ।

स्थानीय कृषि, व्यापार, कला, संस्कृति तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेला असार २१ गतेदेखि साउन ४ गतेसम्म सञ्चालन हुनेछ।

जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बमको सभाध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले दीप प्रज्वलन गरी मेलाको औपचारिक उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले कृषि, व्यापार र सांस्कृतिक क्षेत्रको विकासका लागि यस्ता मेलाहरू महत्वपूर्ण माध्यम बन्ने बताउनुभयो। उहाँले स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजलाई बजारसँग जोड्न, उद्यमशीलताको विकास गर्न तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष चौधरीले गाउँपालिकाले कृषि उत्पादन वृद्धि, स्थानीय व्यापार प्रवर्द्धन तथा सांस्कृतिक पहिचानको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, व्यापारी, कृषक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार मेलामा कृषि तथा व्यापारिक प्रदर्शनीका स्टल, स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री, स्थानीय कला–संस्कृतिको झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, विभिन्न प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

आयोजकले मेलाले स्थानीय कृषक, व्यापारी तथा कलाकारलाई आफ्ना उत्पादन र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्रलाई थप गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट