Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया–३ मा वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा प्रवाह र विकास योजनाबारे व्यापक छलफल

  • कैलाली दर्पण
  • शनिबार, असार २०, २०८३
बर्दगोरिया–३ मा वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा प्रवाह र विकास योजनाबारे व्यापक छलफल
Oplus_16908288

कैलाली, बर्दगोरिया — बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष मनऋषी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा कार्यालयबाट प्रवाह गरिएका सेवा, सञ्चालन गरिएका विकास निर्माणका योजना, बजेट कार्यान्वयन तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा खुला छलफल गरिएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, उपभोक्ता समिति, सामुदायिक वन, खानेपानी तथा विद्युत् संस्थाका पदाधिकारी, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

सहभागीहरूले वडाले एक वर्षको अवधिमा गरेका कामको समीक्षा गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन आवश्यक सुझाव प्रस्तुत गरेका थिए।
सार्वजनिक सुनुवाइका क्रममा रानिकुण्डा खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष टंकराज ओली, रानिजरुवा सामुदायिक वनका अध्यक्ष लालसिंह बिक, जगदम्बिके भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र खड्का, शिवशक्ति ग्रामीण विद्युत्का अध्यक्ष दले तिरुवा तथा राधाकृष्ण मन्दिरका अध्यक्ष चक्र बिष्ट लगायतले वडा कार्यालयबाट प्रवाह भएका सेवाको समीक्षा गर्दै विकास निर्माण, बजेट वितरण, पूर्वाधार, शिक्षा, खानेपानी, विद्युत् तथा अन्य जनसरोकारका विषयमा आफ्नो धारणा, जिज्ञासा र सुझाव राखेका थिए।

सहभागीहरूले सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको उल्लेख गर्दै आगामी दिनमा विकास योजनाको छनोट, बजेट कार्यान्वयन र सेवा प्रवाहमा अझ बढी पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष मनऋषी आचार्यले सार्वजनिक सुनुवाइ लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै नागरिकबाट प्राप्त सुझाव र गुनासालाई सकारात्मक रूपमा ग्रहण गरिने बताए। उनले वडाको समग्र विकास, गुणस्तरीय सेवा प्रवाह तथा जनअपेक्षाअनुसारका योजना कार्यान्वयनमा वडा कार्यालय निरन्तर प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

उनले सीमित स्रोतसाधनका बाबजुद शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, सरसफाइ तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा वडाले उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै काम गरिरहेको बताए । साथै आगामी दिनमा नागरिकका सुझावलाई योजनाको आधार बनाउँदै थप प्रभावकारी, पारदर्शी र उत्तरदायी सेवा प्रवाहमा जोड दिइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले सार्वजनिक सुनुवाइलाई जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध सुदृढ गर्ने प्रभावकारी माध्यमका रूपमा लिँदै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनुपर्ने धारणा राखेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट