Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अनिवार्य अवकाशपछि मोहन्यालका प्रशासन शाखा अधिकृत शाह सम्मानसहित बिदाइ

  • कैलाली दर्पण
  • शनिबार, असार ६, २०८३
अनिवार्य अवकाशपछि मोहन्यालका प्रशासन शाखा अधिकृत शाह सम्मानसहित बिदाइ

६ असार/कैलालीको मोहन्याल गाउँपालिकाका प्रशासन शाखा अधिकृत तेजबहादुर शाहले अनिवार्य अवकाशमा गएका छन्।

लामो समय सार्वजनिक सेवामा रहेर योगदान पुर्‍याएका शाहलाई गाउँपालिकाले एक कार्यक्रमका बीच सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मानसहित बिदाइ गरेको हो।

२०८२ फागुन २६ गते अनिवार्य अवकाश प्राप्त गरेका शाहले २०४५ सालमा शिक्षक सेवाबाट आफ्नो सेवा यात्रा सुरु गरेका थिए। त्यसपछि २०५६ सालमा जिल्ला हुलाक कार्यालयमा खरिदारको रूपमा कार्यरत रहँदै विभिन्न सरकारी निकायमा जिम्मेवारी सम्हालेका थिए।

२०६७ सालदेखि साविक सुगरखाल गाउँ विकास समितिको सचिव तथा २०७३ सालमा साविक पण्डौन गाउँ विकास समितिको सचिवका रूपमा कार्यरत रहेका शाहले स्थानीय प्रशासन र सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

राज्य पुनःसंरचनापछि २०७४ सालदेखि हालको मोहन्याल गाउँपालिकाका विभिन्न वडामा वडा सचिवको जिम्मेवारी समेत सम्हालेका थिए।

पछिल्लो समय उनी मोहन्याल गाउँपालिकाको प्रशासन शाखा अधिकृतका रूपमा कार्यरत थिए। २०८२ फागुन २५ गतेसम्म उक्त पदमा रहेर सेवा दिएका शाहले स्थानीय तहको संस्थागत विकास, प्रशासनिक व्यवस्थापन तथा सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याएको गाउँपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको सभापतित्व तथा गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न बिदाइ कार्यक्रममा उपाध्यक्ष कमल बहादुर साउद , सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले शाहको इमानदार, अनुशासित र सेवामुखी कार्यशैलीको प्रशंसा गर्दै उहाँले सार्वजनिक सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरेका थिए। उनीहरूले अवकाशपछिको जीवन सफल, सुखद र स्वस्थ रहोस् भन्ने शुभकामना समेत व्यक्त गरेका थिए।

कार्यक्रमको संचालन प्रशासन शाखाका टिकाराम पौडेलले गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट