बर्दगोरिया — आन्तरिक रोजगार प्रवर्द्धन गर्ने उद्देश्यले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै ड्राइभिङ तालिम सुरु गरिएको छ।
बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिमले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूमा उद्यमशीलता विकास गर्नुका साथै स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले तालिमको औपचारिक उद्घाटन गर्नुभएको हो। सो अवसरमा अध्यक्ष कुँवरले सीपमूलक तालिममार्फत युवाहरूलाई आत्मनिर्भर बनाउन स्थानीय तह प्रतिबद्ध रहेको बताउनुभयो। साथै उहाँले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले स्वदेशमै केही गर्न सकून् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको उल्लेख गर्नुभयो।
खप्तड ड्राइभिङ प्रशिक्षण केन्द्रले प्रशिक्षण गर्ने उक्त तालिममा वैदेशिक रोजगारीबाट फर्किएका १० जना युवाहरू सहभागी रहेका छन्।
कार्यक्रममा वडा अध्यक्ष मिथुन गौतम, रोजगार शाखा प्रमुख भूमी शर्मा लगायत प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।
तालिमबाट सहभागीहरूले व्यावसायिक सीप हासिल गरी स्वरोजगारतर्फ अग्रसर हुने अपेक्षा आयोजकले गरेको छ।