२४बैशाख/कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले वडा नं. ३ बुटकौवा खल्लामा वर्षायाममा हुने नदी कटान तथा डुबान जोखिम क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा अध्यक्ष कुँवरले प्रत्येक वर्ष दोहोरिने समस्या समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताउनुभयो। उहाँले तटबन्धन निर्माणका लागि पालिकाबाट आवश्यक पहल गरिने र आवश्यक परे अन्य निकायसँग समेत समन्वय गरिने उल्लेख गर्नुभयो।
उहाँले तत्काल तटबन्धन निर्माण सम्भव नभए नदीको धार परिवर्तन गरी दीर्घकालीन समाधानतर्फ अघि बढ्ने स्पष्ट पार्नुभयो।
स्थानीयवासीले वर्षेनी नदी कटानका कारण खेतीयोग्य जमिन तथा बस्ती जोखिममा पर्ने गरेको गुनासो गरेका छन्। समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिने अध्यक्ष कुँवरको प्रतिबद्धता रहेको छ।