२२ बैशाख/ कैलालीको लम्कीचुहा नगरपालिका भल्कामा शिक्षण सिकाइ नगर शिक्षक समितिको आयोजनामा नव वर्ष २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
समितिका अध्यक्ष कर्णाखर जैसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर शिक्षा समिति सदस्य गजेन्द्र बहादुर शाही रहनुभएको थियो। कार्यक्रममा शिक्षकहरू अमृता देवकोटा, बम बहादुर बिष्ट, सृष्टि जैशी तथा कमला रावलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले नगर शिक्षकहरूको पेशागत हकहित र अधिकारका लागि आफू निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले अन्य पालिकाको तुलनामा लम्कीचुहा नगरपालिकाले प्रत्येक वर्ष १० प्रतिशत तलब वृद्धि गर्दै शिक्षकहरूलाई उचित पारिश्रमिक उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।
यस वर्ष पनि नगरपालिकाले कम्तीमा १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत सुरक्षा कोषका लागि बजेट छुट्याउने प्रतिबद्धता जनाइएको उहाँले उल्लेख गर्नुभयो।
समितिका उपाध्यक्ष कला रिमालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव जगत बहादुर शाहीले गर्नुभएको थियो।
लम्कीचुहा नगरपालिकामा प्रावि,आवि र मावि तहमा गरी करिब २ सयको हाराहारीमा नगर शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरू रहेका छन्।