Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्कीचुहा–४ बलियामा यातायात सेवा कार्यालय उद्घाटन, स्थानीयलाई सहज सेवा

  • कैलाली दर्पण
  • शुक्रबार, बैशाख ११, २०८३
लम्कीचुहा–४ बलियामा यातायात सेवा कार्यालय उद्घाटन, स्थानीयलाई सहज सेवा

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गरिएको छ।

शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो ।

कैलालीको पूर्ववर्ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनका निमित्त बलियामा सेवा कार्यालय स्थापना गरिएको हो।

“उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो। उहाँले यातायात व्यवस्था सेवा कार्यालयको स्थापना सँगै यस क्षेत्रका जनताले राहतको अनुभूति गर्नेमा विश्वास व्यक्त गर्नुभयो।

उहाँले मुलुकको विकासका लागि तीन तहकै सरकारले जनताप्रति जिम्मेवार र प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यबाट मात्र विकास सम्भव हुने उल्लेख गर्दै उहाँले कसैले पनि आफूलाई ठूलो वा सानो ठान्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो। साथै, कुनै किसिमको अहंकार नराखी कानुनका प्रावधानहरू सहज रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो।”

यसैगरी, कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य प्रेम बहादुर बयकले कार्यालय सञ्चालनमा आएपछि जनतालाई सेवा लिन सहज हुने र यसबाट नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए। उनले यस्तो सेवा विस्तार जनताको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै निकै महत्वपूर्ण भएको उल्लेख गरे।

नव स्थापित कार्यालय सञ्चालनमा आएपछि कैलाली क्षेत्र नम्बर १, २ र ३ अन्तर्गत लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, टिकापुर नगरपालिका, मोहन्याल गाउँपालिका, जोशिपुर गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकाका स्थानीयवासीलाई यातायात सम्बन्धी सेवा लिन अझ सहज हुने विश्वास गरिएको छ।

कार्यक्रममा प्रदेश सभा सदस्य रामेश्वर चौधरी, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर, मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव विष्णु भण्डारी, टिकापुर नगरपालिका कार्यवाहक नगरप्रमुख राम बहादुर नगर्जी लगायतको उपस्थिति रहेको थियो।

लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तारा प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन वडा नम्बर ३ का अध्यक्ष लब बहादुर शाहीले गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट