Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मुक्त कमैयालाई नयाँ घर: बर्दगोरिया–३ मा २१ आवास हस्तान्तरण

  • कैलाली दर्पण
  • आइतवार, बैशाख ६, २०८३
मुक्त कमैयालाई नयाँ घर: बर्दगोरिया–३ मा २१ आवास हस्तान्तरण

बौनिया/ बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा मुक्त कमैया आवास हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत २१ वटा घर निर्माण गरी लाभग्राही परिवारलाई हस्तान्तरण गरिएको छ।

घर निर्माणका लागि सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको शसर्त अनुदान तथा बर्दगोरिया गाउँपालिकाको संयुक्त लगानीमा ७१ लाख ८४ हजार रुपैयाँ खर्च गरिएको छ। त्यस्तै, ह्याबिट्याट फर ह्युमानिटी र राष्ट्रिय दलित नेटवर्कको ‘सुरक्षित परियोजना’ मार्फत ५२ लाख ५० हजार तथा जनश्रमदानबाट २३ लाख ३५ हजार रुपैयाँ जुटाइएको थियो। यसरी कुल १ करोड ४७ लाख रुपैयाँको लागतमा २१ घर निर्माण गरिएको हो।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले गाउँपालिका मुक्त कमैया, कमलरी तथा दलित समुदायका सवालमा सधैं संवेदनशील र प्रतिबद्ध रहेको बताए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, पूर्व मन्त्री रामेश्वर चौधरीले आफू मन्त्री रहँदा कार्यविधि पारित गरी कार्यक्रम अगाडि बढाएको स्मरण गर्दै किसान तथा मुक्त कमैयाका मुद्दामा आफू सधैं सक्रिय रहने बताए।

स्थानीय सरकारको समन्वयमा निर्माण गरिएका घरहरू हस्तान्तरण भएसँगै लाभग्राही परिवारहरूमा खुशी छाएको छ। कार्यक्रममा ह्याबिट्याट फर ह्युमानिटीकी पश्चिम संयोजक पुनिता चौधरी तथा राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष मोहन ओडले सहकार्यका लागि प्रदेश सरकार र गाउँपालिकालाई धन्यवाद दिएका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट