बौनिया-बर्दगोरिया गाउँपालिकामा सुधारिएको चुलो वितरण कार्यक्रम सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले चुलो वितरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो।
गाउँपालिकाको पहल तथा एक्का नेपालको सहयोगमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत स्थानीय नागरिकलाई सुधारिएको चुलो वितरण गरिएको जनाइएको छ। वातावरण संरक्षण र दिगो ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको वातावरण संरक्षण शिविरमार्फत ४ हजार ७९८ जनालाई सुधारिएको चुलो वितरण गरिनेछ।
गाउँपालिकाका अनुसार सुधारिएको चुलो प्रयोगबाट दाउरा खपत कम हुने, धुवाँ उत्सर्जन घट्ने तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
जनप्रतिनिधिहरूले सुधारिएको चुलोको प्रयोगले वातावरण संरक्षणमा टेवा पुग्नुका साथै विशेषगरी महिलाहरूको दैनिकी सहज हुने बताएका छन्। साथै, यस्ता कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।
स्थानीय बासिन्दाहरूले पनि सुधारिएको चुलो प्राप्त गर्दा खुशी व्यक्त गर्दै यसको प्रभावकारी प्रयोग गर्ने बताएका छन्।
